इन्चार्ज हुनै मान्दैनन् महिला प्रहरी

बाँके । यसपालिको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘समानताको पुस्ता – अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने थियो।
कार्यालयको कामदेखि ज्यालासम्म अर्थात् हरेक कुरामा समानता भनिएको छ। श्रीमान् कर्मचारी, महिला पनि कर्मचारी छ भने महिलाले कार्यालयबाट आएपछि घरको सम्पूर्ण काम गर्नुपर्ने, श्रीमान्ले आराम गर्ने कुरा चर्चाको शिखरमा छ। यद्यपि, यस्तो बहुसंख्यक छैनन्।
समानताको कुरा गरिरहँदा बाँकेको प्रहरीमा के छ अवस्था? कति छन् त महिला प्रहरी इन्चार्ज? खुल्दुली लाग्नु स्वाभाविक नै देखियो। बाँकेमा महिलाले इन्चार्ज भएर चौकी हाँकेको अत्यन्तै न्यून रहेको छ। भर्खरै ढकेरीमा महिला इन्चार्ज पुगेकी छन्। कार्यालयभित्रको प्रशासन, महिला सेल, उजुरी छानबिन, उजुरी लेखन, अदालतमा महिला इन्चार्ज छन्।
चौकीमा इन्चार्ज भएर जान महिलाले इच्छा नदेखाएको एसपी वीरबहादुर ओलीको भनाइ छ। बाँकेमा ६२ युनिट छन्। १ सय ५० महिला प्रहरी छन्। इन्चार्ज हुन योग्य अर्थात् असई एक दर्जनजति छन्। एसपी ओलीले भने– ‘फिल्डमा इन्चार्ज भएर आफ्नो कार्यकौशल देखाऊ भनेर पठाउन खोज्दा जान मान्दैनन्, महिला अगाडि बढ्नै मान्दैनन्।’
एसपी ओलीले आफूले महिला प्रहरीलाई इन्चार्ज भएर काम गरेर देखाउन हौसला बढाउने काम गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?