कोरोना भाइरसबाट जोगिन न्यूरोडमा ‘पानीका धारा’

पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसबाट जोखिन न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान गरिएको छ । काठमाडौँको प्रमुख व्यावसायिक क्षेत्रका रूपमा परिचित न्यूरोडको पाको रोडका मोबाइल व्यवसायीले कोरोनाबाट बच्नका लागि उक्त सडकको दुईतर्फ १२ पानीका ड्रमसहित धारा जडान गरेका हुन् ।

जडान गरिएको धाराको आज महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का निर्देशक सञ्जीव राना र पाको रोडका व्यवसायीले हात धोएर कार्यक्रमको संयुक्त उद्घाटन गर्नुभएको हो । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख सुवेदीले कोरोना भाइरसबाट जोगिन हात धुनुपर्ने बताउँदै हात धुनका लागि न्यूरोडका व्यवसायीले धारो राखेर राम्रो कामको थालनी गरेको उल्लेख गर्नुभयो ।

केयुकेएलका निर्देशक रानाले कोरोना भाइरसको जनचेतना देशैभर फैलाउनु जरुरी रहेको बताउनुभयो । विश्वमा पछिल्लो समय भयावहरूपमा फैलँदै गएको कोरोनाको असर नेपालमा पनि पर्नसक्ने भन्दै यसबाट जोगिनुपर्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?