फेला परे टेकुबाट भागेका बिरामी

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा आइतबारदेखि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ । कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका बिरामी भाग्ने घटना देखिन थालेपछि अस्पताल प्रशासनले प्रहरी र परामर्शदाता राख्ने निर्णय गरेको हो ।
‘माइक्रोफोन राखेर सुरक्षित दोहोरो संवादको समेत व्यवस्था गरिरहेका छौं,’ अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले भने । बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि माइक्रोफोन राख्न थालिएको हो । आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नपाऊन् भनेर अस्पतालमा सीसीटीभीसमेत जडान गर्न थालिएको छ । अस्पतालको आइसोलेसन वार्डमा राखिएका दक्षिण कोरियाबाट आएका एक नेपाली बुधबार राति भागेका थिए ।

यसअघि समेत एक जना विदेशी नागरिक अस्पतालबाट भागेका थिए । ‘उनी डराएका थिए, अन्य लक्षण देखिएको थिएन,’ डा राजभण्डारीले भने । उनका अनुसार भागेका ती बिरामीलाई बिहीबार विराटनगरमा फेला पारेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानको आइसोलेसन वार्डमा जान भनिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?