जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय पर्वतको सुविधासम्पन्न भवन निर्माण भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको सुविधासम्पन्न नयाँ भवनको गृहमन्त्री रामबहादुर थापाले आज उद्घाटन गर्नुभयो ।
पर्वतमा कार्यरत तत्कालीन प्रजिअ झङ्कनाथ ढकालको अगुवाइमा २०७२ सालमा भवन निर्माण शुरु भएको थियो । नयाँ भवन गत वर्षदेखि नै प्रयोगमा आए पनि औपचारिक रुपमा आज उद्घाटन भएको हो । भवनमा पर्याप्त कोठा, कार्यक्रमका लागि सभाहलदेखि प्रजिअको निवास र सुरक्षाकर्मीका लागि भवनसमेत निर्माण भएको छ । भवन निर्माणका लागि रु चार करोड ३५ लाख ७३ हजार २७८ खर्च भएको प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।
प्रशासनले यसअघि २०२८ सालमा निर्माण भएको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नयाँ भवन बनेसँगै हेल्प डेस्क, सिसिटिभी, सहसचिवको दरबन्दी स्वीकृत भएका कारण त्यसको आवश्यकतालाई समेत पूरा गर्ने गरी सुबिधा थपिएको छ । भवन निर्माणपछि सेवा प्रवाहका लागिसमेत सहज भएको प्रजिअ घिमिरेले बताउनुभयो ।
यसैबीच नयाँ भवनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना समृद्धि असम्भव भएको बताउनुभएको छ । शान्ति र स्थायित्वमा मात्रै विकास निर्माणका काम र समृद्धिका योजनाहरु सहज ढङ्गले सञ्चालन हुन सक्ने उहाँको भनाइ थियो । “विकास र समृद्धिका लागि पहिलो सर्त नै शान्ति सुरक्षा र स्थिर सरकार हो”, उहाँले भन्नुभयो, “शान्तिसुरक्षा मजबुद भएन भने लगानीको वातावरण नै बिग्रन्छ ।”
विकास निर्माणका काममा भएका अवरोध हटाउने, विवाद व्यवस्थापन गर्ने काम शान्तिसुरक्षा दिने निकायबाटै सम्भव रहेको र त्यसमा ध्यान दिन उहाँले निर्देशन पनि दिनुभयो । उहाँले सरकार मिचिएको नेपाली भूमि फिर्ता गराउन पहलकदमी लिएको बताउँदै त्यसका लागि राष्ट्रिय एकता आवश्यक पर्नेमा पनि जोड दिनुभयो । सीमाका समस्या, सीमापार अपराध नियन्त्रणका लागि सरकारले ठोस कार्यक्रम र योजनासहित अघि बढिरहेको जानकारी पनि दिनुभयो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले चुस्त, जनमैत्री र प्रविधियुक्त प्रशासनिक सेवा प्रवाहको व्यवस्था मिलाउने काम भइरहेको बताउँदै गण्डकी प्रदेश सरकारले यसका लागि सहयोग तथा समन्वय गरिरहेको छ भन्नुभयो । गृह सचिव महेश्वर न्यौपानेले विकास र पूर्वाधारका योजनामा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधिहरुले व्यवसाय र राजनीतिमध्ये एउटा छान्न पनि आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया