दाङ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले ‘बङ्गुर मिसन’ कार्यक्रम शुरु गरेको छ । प्रदेश नं ५ प्रदेशस्तरीय केन्द्रले पशुपालन व्यवसायको विकासका लागि बङ्गुर मिसन कार्यक्रम शुरु गरेको हो । प्रदेश मन्त्रालयबाट आएको बजेटमार्फत दाङ र प्यूठानमा उक्त कार्यक्रम लागू गरिएको केन्द्रका योजना सहायक अधिकृत खड्गबहादुर केसीले बताए ।
उनका अनुसार भेडा–बाख्रापालनका लागि १२ लाख, स्थानीय कुखुरापालनका लागि २५ लाख, बङ्गुरपालनका लागि २५ लाख, घाँसबाली स्रोत केन्द्रका लागि २० लाख, साइलेज निमार्णका लागि २० लाख, घाँसबाली, बीउ उत्पादनका लागि छ लाख, मासु, डेरी पसल सुधारका लागि २४ लाख, च्यापकर मेसिनका लागि पाँच लाख बजेट छुट्याएको छ ।
त्यस्तै बाख्रा मिसन कार्यक्रमका लागि ५० लाख, जिउँदो माछा बिक्रीका लागि आठ लाख, साना पोखरी निर्माणका लागि पाँच लाख, विपन्न वर्गलाई माछाका भुरा वितरणका लागि एक लाख, प्लाष्टिक पोखरी निमार्णका लागि चार लाख, प्राकृतिक जलाशय मर्मतका लागि १५ लाख, अनुदानमा ऐरेष्टरका लागि १२ लाख, नयाँ पोखरी निमार्णका लागि ४५ लाख बजेट छुट्याएको सहायक योजना सहायक अधिकृत केसीले जानकारी दिए ।
भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको आर्थिक वर्ष २०७६-७७ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनका लागि कार्यान्वयन समितिसमेत गठन गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा बेदबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । त्यसको सदस्यमा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेत, कोष तथा लेखा नियन्त्रण कार्यालयका खिमबहादुर डाँगी, जिल्ला समन्वय समिति दाङका जगतबहादुर बस्नेत र भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका कृष्णकुमार न्यौपाने रहेका छन् ।
गत वर्ष जिल्लामा लक्षित वर्गका परिवारलाई बोयर जातका बोका वितरण, साइलेज निर्माण, नर्सरी निर्माण, गोठ सुधार, आयआर्जनका लागि बङ्गुर, बाख्रा वितरण गरिएको सहायक अधिकृत केसीले जानकारी दिए । यी कार्यक्रम गत वर्ष लक्षित वर्गका लागि प्रभावकारी भएको उनको भनाइ छ । कृषकलाई आयआर्जनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।
गत वर्ष सञ्चालन भएका कार्यक्रममा यस आर्थिक वर्षमा केही कार्यक्रम पुनः थप गरेर सञ्चालन गरेको बताए । केन्द्रमार्फत दाङ र प्यूठान हेर्दै आएको जनाएको छ । विभिन्न लक्षित वर्गका लागि यी कार्यक्रम प्रभावकारी र व्यवसायमा आबद्ध हुने नागरिकका लागि आत्मनिर्भर हुनका लागि सहज भएको प्रदेश नं ५ स्तरीय भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया