अवैध रुपमा भारतबाट ल्याउँदै गरिएको खसीबोकासहित २ जना पक्राउ

नेपालगञ्ज । करीव ३८ लाख रुपैयाँ बराबरको २ सय ५७ खसीबोकासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैधरुपमा ल्याइएका खसी र उनीहरुले चलाएको गाडीसहित रोल्पा जिल्ला रुन्तिगढी गाँउपालिका वडा नम्बर ६ का युवराज पुन र दाङ जिल्ला घोराही उपमहानगरपालिका-१३ का सविन थापालाई पक्राउ गरीएको कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी कुलदिप चन्द ठकुरीले लोकपथलाई जानकारी दिए ।

डीएसपी ठकुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजस्व छलेर अवैध रुपमा भारतबाट नेपाल ल्याउदै गरिएको खसीबोकासहित उनीहरुलाई जंगलबाट रातको समयमा नियन्त्रणमा लिएको हो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ३ स्थित वनघिर्सी जंगलबाट दुई ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको डीएसपी ठकुरीले जानकारी दिए।

चालक पुनले रा १ ख १०९८ नम्बरको गाडीमा ५२ वटा खसी ल्याएर आएका थिए भने, थापाले रा १ ख २१९८ नम्बरको गाडीमा ५५ वटा खसी खसी ल्याएर नेपाल छिरेका थिए ।

यस्तै अन्य खसीहरु भने गाडीका डिक्कीमा लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको ठकुरीको भनाई छ ।

प्रहरीले नियन्त्रणमा लिएका खसी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । नियन्त्रणमा लिइएका पुन र थामामाथि अनुसन्धान भईरहेको ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?