ए डिभिजन लिग : शेर्पालाई पाखा लगाउँदै थ्री स्टार शीर्ष तीनमा

काठमाडौं । थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो ।

थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले एक गोल फर्काए । खेलको छैटौं मिनेटमा शुसिलले गोल गर्दै थ्री स्टारलाई १-० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई १-१ को बराबरीमा ल्याए । तर, त्यसको एक मिनेटपछि सन्जोगले गोल गर्दै पहिलो हाफमा थ्री स्टार २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ५० औं मिनेटमा निशान खड्काको पासमा शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गर्दै हाजमतले उत्कृष्ट हेड गोल गर्दा थ्री स्टारले ३-१ को सहज जित निकाल्यो ।

खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अंक जोडको छ । शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?