एपीएफलाई पाखा लगाउँदै एनआरटी विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लबले जित हात पारेको छ ।

आइतबार भएको खेलमा एनआरटीले टिम एपीएफ क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले समान एक एक गोल गरे । एपीएफका आशिष लामाले दुई गोल फर्काए ।

आन्द्रेले खेलको २४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।दोस्रो हाफमा एपीएफले अग्रता बनायो । खेलको ५४ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ८० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८५ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई ३-२ को जित दिलाए ।

खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ ।

एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?