डीआइजी सिंहविरुद्ध अख्तियारमा उजुरी, के छ कानूनमा ?

काठमाडौं । प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत प्रहरी नायव महानिरिक्षक (डीआइजी) डा. आशा सिंहले पदिय दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सिंहले आफुले नगरेको काम गरेको, नपाएको पद वा चिन्हलाई पाएको भनि पदिय दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । सिंहले आफु संलग्न नै नभएको राष्ट्रसंघीय मिसनबाट प्राप्त हुने तक्मा (रिवन) विगत ३ वर्षदेखि लिएको भन्ने समाचार बाहिरीएको थियो ।

सिंहले विगत ३ वर्षदेखि युएनमा सेवा गरे वापतको पाउने सम्मान दक्षिण बाहुको पदको रिवन प्रहरी पोशाकमा धारण गरेकी थिइन् । उनले पाएको उक्त सम्मानको विषयमा सञ्चारमाध्यममा आएपछि उनले उक्त सम्मान धारण गर्न छोडेकी थिइन् । उक्त सम्मान पदिय दुरुपयोग भएको भन्दै डा.सिंहविरुद्ध उजुरी परेको अख्तियार स्रोतले बताएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ मा कुनै राष्ट्र सेवकले वा अन्य कुनै व्यक्तिले आफुले नपाएको ओहोदा, हैसियत वा सुविधा प्रयोग गरेमा वा नपाएको ओहोदा सम्बन्धी चिन्ह, निस्सा जस्तो देखिने कुनै कुरा लगाएमा वा देखिएमा निजलाई कसुर मात्र अनुसार १ वर्ष देखि २ वर्षसम्म कैद र ५० हजार रुपैँया देखि १ लाख रुपैँया सम्म जरिवाना हुने स्पष्ट व्यवस्था छ ।

सोहि अनुरुप सार्वजनिक पदमा बसेर सरकारी तथा अन्तर्राष्ट्रिय चिन्हको दुरुपयोग भएको विषयलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै उजुरी परेको आयोगले स्रोतले बताएको छ ।

सिंह प्राविधिकतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएकी थिइन् । एआईजीमा सिफारिस भएकी डा. सिंहविरुद्ध पुस २७ गते अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी परेको हो ।

१४ पुसमा गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालको प्राविधिकतर्फको एआईजीमा सिंहलाई बढुवा सिफारिस गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?