पृथ्वीजयन्ती भव्य रुपमा मनाइँदै, पूर्वराजा ज्ञानेन्द्रले दिए शुभकामना

काठमाडौं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।

सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् । समारोहमा त्यहाँ अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको प्रशंसा हुँदै आएको छ ।

पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको भनी राजनेताबाटै समेत उनको योगदानको सह्राना भएको छ ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा आइतबार दिउँसो चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने बताउँदै परस्पर प्रेम, एकता र सद्भावका निम्ति आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?