सिद्धबाबा रिहाइको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे जिल्ला अदालतले गरेको रिहाइको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

बलात्कार गरेको अभियोग पक्राउ परेका सिद्धबाबालाई गत सोमबार सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सो आदेश त्रुटीपूर्ण भएको ठहर गर्दै त्यसको बदरको माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकाले थुनछेक बहसपछिको आदेशप्रति चित्त नबुझी प्रतिवादी सिद्धबाबालाई थुनामा राखी पुर्पक्ष गर्नुपर्छ भन्ने माग गरिएको छ ।

गिरीविरुद्ध एकजना महिला अनुयायीले बलात्कार आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?