पर्यटक भिसामा आएका थिए पक्राउ परेका चिनियाँ, ‘चार्ली फोक्स्टर’को यस्तो खुलासा !

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेका चिनियाँ नागरिकको विषयमा औपचारिक जानकारी गराएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले ९ वटा घरबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–१ मनमैजु, काठमाडौं महानगरपालिका महाराजगंञ्ज र बुढानिलकण्ठ नगरपालिका–३ का ९ वटा घरमा अपरेशन गरेको थियो ।

नेपाल प्रहरीले उक्त अपरेसनलाई ‘चार्ली फोक्स्टर’ नाम दिएको छ । उनीहरुले नेपालमा बसरे विभिन्न किसिमका ठगी धन्दा चलाइरहेको डिआइजी निरजबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रहरीले आज उनीहरुबाट बरामत सामग्रीसमेत सार्वजनिक गरेको छ। प्रहरीले उनीहरुको साथबाट ७ सय ४७ थान मोवाइल, तीन सय ३१ थान ल्यापटप, ९८ थाप सिपीयू, ९९ थान मोनिटर, पेनड्राइभ २२ थान, ३ सय २७ थान सिमकार्ड र राहदानी ६७ थान बरामद गरेको छ ।

उनीहरु १ सय ५० दिनको पर्यटन भिसामा नेपाल छिरेको डिआइजी शाहीले जानकारी दिए । उनीहरुले एउटा ८ तले घर नै भाडामा लिएर ठगी गरेको शाहीले जानकारी दिए।

चीलीमा आयोजित इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ पक्षले नेपाली पक्षलाई चिनियाँ नागरिकहरु नेपालमा बसेर साइबर अपराधको गतिविधि गरिरहेको सूचना दिएपछि त्यसबारे निगरानी गरेको थियो ।

नेपाल र चीन दुबै देशको सहकार्यमा उनीहरुलाई पक्राउ गरीएको शाहीले जानकारी दिए । उनीहरुलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको शाहीले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?