सवारी दुर्घटना न्यूनिकरण गर्न सरकारको यस्तो प्लान

कठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएर अघि बढेको बताएका छन् । आज प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आफ्नो धारण राख्ने क्रममा नेम्बाङले त्यस्तो बताएका हुन् ।

समितिमा छोटो धारणा राखेका मन्त्री नेम्वाङले सडक दुर्घटनाप्रति राष्ट्रपतिबाट संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीबाट निर्देशन आएकोसमेत बताए । उनले भने ‘सम्माननीय राष्टपति ज्यूले समेत चासो देखाउनु भएको छ । यसलाई निराकरण गरेर अघि जानको निम्ती सिंगो सरकार सम्माननीय प्रधानमन्त्रीबाट ठोस उपयुक्त र आवश्यक निर्देशन समेत सम्बन्धित निकायहरुलाई प्राप्त भइसकेको छ ।’

मन्त्री नेम्बाङले गृह मन्त्रलाय, भौतिक मन्त्रालय लगायत सरोकारवाला निकायहरुसंग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि प्रतिवेदन तयार भएको बताए । उनले भने ‘गृह, भौकित तथा सरोकारवाला निकार्यसंग गहन छलफल गरेर प्रतिवेदन तयार भएको छ ।

सवारी दुर्घटनाको कारण, अहिलेको अवस्था, विगतको अवस्था र अहिलेको चौमासिकसम्म आईपुग्दाको अवस्थाको समेत प्रतिवेदनमा लेखाजोखा गरिएको छ ।’

दुर्घटनाले मानवीय संवेदनाशीलतालाई अघि सारेको र नियन्त्रणका लागि सबै लाग्नु पर्ने उल्लेख गर्दै दुर्घटनाका धेरै कारणहरु देखिएको र यसलाई न्यूनिकरण गर्ने पनि धेरै उपायहरु रहेको बताए । उनले भने ‘दुर्घटना रोक्ने दर्जनौ उपायहरु छन् ।

ती उपायहरुकोे पनि बुलेटमा पहिचान गरिएको छ यसलाई सरकारले नीतिगत रुपमा के गर्नु पर्दछ अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा त्यस सम्बन्धी कानुनहरु, नियमावली र विधेयकका रुपमा अघि बढाउने तर्फ मन्त्रालय लागेको छ ।’

मन्त्रालयको जिम्मेवारी सम्हालेर पहिलोपटक समितिमा पुग्नु भएका मन्त्री नेम्वाङलाई समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन् । कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए ।

उनले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए ।

उनले पछिल्लो समय सडकका कारणले भन्दापनि मानविय र यान्त्रीक गडवडीका कारण दुर्घटना हुने गरेको बताए । त्यसको नियन्त्रण गर्नेकाम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवस्यक रहेको समेत बताएका छन् ।

त्यसैगरी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम ढ्कालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताएका छन् ।

त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना भएको बताए । त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखि भन्दा पनि नाफामुखि भई सवारीसाधन चलाउँदा समेत दुर्घटना बढेको उनको भनाई छ ।

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ ।

यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानविय र यान्त्रीक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?