सांसद सिलवाल पक्राउ गर्न प्रहरीको देशभर सर्कुलर, यस्तो छ पत्र

काठमाडौं, ३ माघ । प्रहरी प्रधान कार्यालयले पूर्व डिआईजी तथा सांसद नवराज सिलवाललाई नियन्त्रणमा लिन देशभर पत्राचार गरेको छ । बुधवार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातओटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखेर सिलवाललाई पक्राउ गरी महानगरिय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउन निर्देशन दिएको हो प्रहरी हेडक्वाटर अन्तर्गतको अपराध अनुसन्धान विभागका इन्स्पेक्टर मदन कुँवरले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,‘भूपू प्रनामनी नवराज सिलवलालाई खोजतलास गरी फेला परेमा महनगरीय प्रहरी परिसर, काठमाडौंमा उपस्थितिका लागी जानकारी गराउनुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’ सिलवाल विरुद्ध किर्ते जाहेरी दर्ता भएसँगै उनलाई पक्राउ गरी बुझउन काठमाडौँ प्रहरीले गत पुस १८ ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो । त्यसको केहीदिनपछि ललितपुर प्रहरीले सिलवाल फेला नपारेको व्यहोरा काठमाडौँ प्रहरीलाई पठाएसँगै प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरेको हो । ललितपुर १ बाट निर्वाचित सांसद सिलवाल प्रहरीले पक्राउ पर्ने सुइको पाएसँगै गुमनाम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?