भोजपुर–काठमाडौं सीधा यातायात शुरु

काठमाडौं | भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौं सीधा यातायात शुरु भएको छ । यही मङ्सिर १६ गतेदेखि सेवा दिँदै आएको सुपर खोटाङ भोजपुर यातायात प्रालिले आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि भाडासमेत निर्धारण गरेको छ ।

भोजपुरबाट दिक्तेल हुँदै काठमाडौंमा सुमोको रु दुई हजार र बसको रु एक हजार ७०० भाडा निर्धारण गरिएको हो ।
सुमो प्रत्येक दिन बिहान ४:३० बजे भोजपुर डाँडागाउँ र ५:४५ बजे देउरालीबाट छुट्ने प्रालिका अध्यक्ष दिवाशन राईले जानकारी दिनुभयो ।

अहिले सुमोबाट सेवा दिइने र यात्रुको चाप बढेमा आवश्यकतानुसार अरू यातायातका साधन सञ्चालन गरिने व्यवसायीले बताएका छन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले व्यवसायीलाई यात्राका क्रममा यात्रुसँग व्यवहार राम्रो गर्न, तोकिएभन्दा बढी भाडा नलिन तथा सुरक्षित तवरले गन्तव्यसम्म पु-याउन आग्रह गर्नुभयो ।

सो मार्गबाट काठमाडौँ– भोजपुरको दूरी ३६६ किलोमिटर छ । यो भोजपुर– काठमाडौँको सबैभन्दा छोटो मार्ग हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?