सैन्य–प्राविधिक समन्वय सम्वन्धी नेपाल र रुस बीच हस्ताक्षर हुँने

काठमाडौं । नेपाल र रुस बीच सैन्य–प्राविधिक समन्वय सम्वन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार यसबारे औपचारिक जानकारी दिनुभएको छ।

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसित भेटवार्तापछि लाभ्रोभले भन्नुभयो– ‘सैन्य–प्राविधिक समन्वयमा धेरै राम्रा कुराहरु छन् । हामीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सहमति गरेका छौं । ’

लाभ्रोभले नेपालमा हेलिकप्टर आपूर्ति विस्तार गर्ने योजना पनि सुनाउनु भएको छ । उहाँले भन्नुभयो, ‘रसियाको विमान, खासगरी एमआइ–१७ हेलिकप्टरहरु नेपालको उच्च अवस्थितिमा निकै उपयोगी प्रमाणित भएका छन् र यस क्षेत्रमा पनि सहकार्यको योजना बनाइएको छ ।’

भेटबार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पूर्ण सदस्यता प्राप्त गर्न नेपालले चाहेको बताउनुभयो ।

उहाँले हरेक समस्याको समाधान संवाद र आपसी समझदारीबाट हुन सक्ने विश्वास गर्ने बताउनु भयो ।

अन्तरसरकारी संगठनको रुपमा एससीओको स्थापना सन् २००१ मा साङ्घाईमा गरिएको थियो । यसका संस्थापक सदस्यहरु चीन, काजकिस्तान, कीर्गिस्तान, रसिया, ताजिकिस्तान र उज्बेकिस्तान हुन् । भारत र पाकिस्तानले सन् २०१७ मा यस संगठनको पूर्ण सदस्यता पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?