संसद् पदाधिकारीद्वारा ऐनविपरीत ५०% सम्म भत्ता

काठमाडौँ – संघीय संसद्का प्रमुख चार पदाधिकारीले कानुनविपरीत आफ्नो स्वकीय सचिवालयका कर्मचारीलाई भत्ताबापत मोटो रकम दिन थालेका छन् ।

 सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले स्वकीय सचिवालयमा नियुक्त २८ कर्मचारीलाई संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनविपरीत भत्ता दिएका हुन् ।

ऐनमा ‘पदाधिकारीको स्वकीय सचिवालयमा नियुक्त कर्मचारीले सुरु स्केलबराबरको तलब मात्र पाउने’ उल्लेख छ । प्रमुख चार पदाधिकारीले ऐनको उक्त व्यवस्थाविपरीत निर्णय गराई मासिक अधिकतम ८० घण्टासम्म अतिरिक्त समय काम गरेबापत सुरुको तलब स्केलको ५० प्रतिशतसम्म भत्ता उपलब्ध गराउन थालेका हुन् ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवालयमा ८/८ जना र उपसभामुख तथा उपाध्यक्षको स्वकीय सचिवालयमा ६/६ जना कर्मचारी छन् । ती सबै कर्मचारी पदाधिकारीका आफन्त र परिवारका सदस्य हुन् । २८ जनालाई न्यूनतम स्केलको ५० प्रतिशतका दरले सुविधा दिँदा वर्षको एक करोड रुपैयाँभन्दा बढी खर्च हुने जानकारी संसद् सचिवालय स्रोतले दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?