वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालले बच्चा साटेको आरोप

वीरगन्ज, २९ कात्तिक-  सामान्यतया बच्चा जन्मँदा आमाबाबु खुसी हुनुपर्ने हो । सुत्केरीलाई सुरक्षित सेवा प्रदान गर्ने अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकसहित उनको टोलीले धन्यवाद पाउनुपर्ने हो । तर, वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पछिल्लो समय फरक दृश्यहरू देखिएका छन् आइतबार छपकैया–१ घर भएका अनिल पासवानकी पत्नी उषा पासवानले छोरी जन्मिएलगत्तै विवाद झिकिन् । आफूले छोरालाई जन्म दिए पनि अस्पतालका कर्मचारीले बच्चा साटिदिएको उनको आरोप थियो । उषाकी आमा जयगनिया देवीले पनि छोरीको कुरामा सही थपिन् । विवाद बढ्यो । अस्पतालका मेसु डाक्टर इमामुल र प्रसूति विभागका प्रमुख सुरेन्द्र चौधरीको रोहबरमा लामो समय छलफल भयो । अन्त्यमा, उषाले आरोप फिर्ता लिइन् शनिबार बिहान पनि अस्पतालमा यस्तै घटना देखिएको थियो । सर्लाहीको बलरा नगरपालिका– ११ घर भई वीरगन्ज महानगरपालिका प्रगतिनगरमा बस्दै आएका राममनोजप्रसाद कुसवाहकी पत्नी कामिनीदेवी कुसवाहले छोरी जन्माएकी थिइन् । उक्त छोरी आफ्नो नभएको कुसवाह परिवारको दाबी छ । उनीहरूले पनि अस्पतालले बच्चा साटिदिएको आरोप लगाएका छन्, नयाँ पत्रिकामा खबर छ छोराकै लागि मात्र किन विवाद ?अस्पतालमा बच्चा साटिएको भनेर बाहिरिएको दुवै विवादमा छोरा जन्मिएको, तर साटेर छोरी दिएको भन्ने आरोप परिवार पक्षले लगाएको छ । छोरीको साटो छोरा साटियो भन्ने विवाद कहिल्यै नआएको अस्पताल प्रशासनको भनाइ छ छोरीको जन्मलाई सहज स्विकार्न नसक्ने सामाजिक कुसंस्कारका कारण यस्तो समस्या आएको कतिपयको बुझाइ छ । अस्पतालको प्रसूति विभागमा ४० वर्ष काम गरेकी पूर्वमेट्रोन विशाखा चौधरीले छोरीको जन्मलाई अभिशापका रूपमा लिने गरेका कारण यस्तो समस्या आएको बताउँछिन् । ‘छोरी पाउनेबित्तिकै छोरीलाई पढाउनुपर्छ, विवाह गर्दा दाइजो दिनुपर्ने हुन्छ । घरको मानिसले महिलालाई छोराका लागि दबाब दिइरहेका हुन्छन्,’ उनले भनिन्, ‘धेरै गर्भवती महिलाले कुराकानीको क्रममा लोग्न तथा सासूले मार्छन् पिट्छन् भन्ने गुनासो हामीसँग गरिरहेका हुन्छन् ।’अस्पतालमा विवाद आउन थालेपछि नै आमाबाट पहिचान गरेपछि मात्रै वार्डमा लैजाने गरिएको उनले बताइन् । ‘पहिला सालनाल काटिसकेपछि मात्रै आमालाई छोरा वा छोरी भएको भनेर भन्ने गरेका थियौँ । विभिन्न घटना घट्ने, विवाद आउने गरेपछि बच्चा सिरियस नै छ भने पनि आमाको पेटको तातोमा राखेर पहिचान गराएपछि मात्रै वार्डमा पठाउने गरेका छौँ ।’कतिपय महिलाले छोरी पाएको थाहा पाएपछि पहिचान गर्न नै अस्विकार गर्ने गरेको उनको अनुभव छ । ‘छोरी पाएको थाहा पाएपछि कतिपय महिलाले बच्चाको पहिचान गर्न नै अस्वीकार गरेको घटना मसँग धेरैपटक भएको छ । छोरी देखेपछि बेहोस भएजस्तो गर्छन् ।’ उनले फिल्ममा देखाइएजस्तो बच्चा साट्ने घटना नारायणी अस्पतालमा हुनै नसक्ने तर्क गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?