यसरी पोखे कार्याकर्ताले देउवामाथि आक्रोश, धन्न वर्ता नबोल्नु भनेनन्

नेपालगन्ज, २९ कात्तिक- आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा । सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो । पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम सुरु गरे । कार्यकर्तालाई जिज्ञासा राख्न भने । मञ्चमा बसेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किरण कोइरालासँग कानमा खुसुक्क भन्दै थिए, ‘केको जिज्ञासा छ र ? ऐले ढिला हुन्छ ? ’ कोइरालाले राख्न दिऊँ भन्ने इशारा गरिन् लगत्तै भीडबाट एक जना कार्यकर्ता जुरुक्क उठे । ‘हामी पनि पार्टीमा लागेर जीवनै सक्किन लाग्यो, हाम्रो नामै सिफारिसमा परेन, टिकट वितरणमा रहेका मेरा भाइ उमेरका केन्द्रीय सदस्य किशोरसिंह राठौरले बरु मेरो उमेर सोध्नुभयो ? ’ बाँके क्षेत्र नं. ३ का ती कार्यकर्ता हरिभक्त उप्रेतीको रिस अझै सकिएको थिएन, ‘के हामी जिल्ला बस्नेहरूको पार्टीमा कुनै हैसियत छैन ? ’भीडमा गडगडाहट ताली सुनियो । उनी अझै जोशमा आएर पार्टीप्रति गुनासो गर्दैथिए ‘पार्टी सकिनै लाग्यो सभापतिज्यू, एक त वाम गठबन्धनले त्यसै अप्ठ्यारो छ, त्यसमाथि पार्टी तपाईंकै कारणले सकिन लाग्यो । चुनाव कसरी जितिन्छ ? ’ उनले पार्टी जिल्ला सभापति किरण कोइरालाको समेत नाम समानुपातिक सूचीमा नअटाएको भन्दै गर्दा कोइराला टाउको हल्लाइरहेकी थिइन् । ताली एकनासले बजिरहेको थियो उनलाई कार्यक्रम सञ्चालक जिल्लासचिव शर्माले जोडबल गरेर बसाउन खोजे पनि कार्यकर्ताले ‘हुटिङ’ नछाडेपछि बसाउन सकेनन् । तर, उनलाई जबर्जस्ती बस्न लगाइयो अर्का कार्यकर्ता सोमबाहदुर थापा जुरुक्क उठेर एक्कासि कुर्लिए ‘सभापतिज्यू कहिलेसम्म हामीले तपाईंहरूको झोला बोकिरहने हो ? के तपाईंहरू मरेपछि मात्रै हाम्रो पालो आउने हो ? ’उनको आक्रोश निकै बढ्दै थियो । कार्यक्रम सञ्चालकले फेरि माइकबाटै आफ्नो कुरा सक्न भने । झन् रिसाउँदै भने, ‘हाम्रो त जीवन नै सकिन लाग्यो, पार्टी पनि यही कारणले सकिन्छ ? अब कसरी जित्छ कांग्रेसले हामी पनि हेरौंला ।’फेरि अर्का कार्यकर्ता देउवा नजिकै उभिएर गर्जंदै थिए । ती थिए, मुस्लिम समुदायका कांग्रेसी नेता अब्दुल हमिद सिद्धिकी । उनलाई सुरक्षाकर्मीले केही पछि धकेले । उनी त्यहीँबाटै कुर्लिन सुरु गरे । उनको पनि गुनासो टिकट वितरणप्रति नै थियो । ‘कांग्रेसलाई जनताले हराउँदैनन्, सभापतिज्यू यस्तै कारण आफैंले गर्दा कांग्रेसले हारेको छ’, उनी भन्दै थिए, ‘तपाईंले हाम्रै जिल्ला सभापतिको नामसमेत याद गर्नु भएन, यसरी त अब चुनाव जित्न गाह्रै छ ।’कार्यक्रम सञ्चालकले जबर्जस्ती गरी उनलाई चुप लगाए तीनजना कार्यकर्ता बोलेपछि ‘फ्लोर’ बन्द भयो त्यसपछि पनि कार्यकर्ता सम्झाउन देउवालाई हम्मे-हम्मे भयो । उनले टिकट वितरण ‘अन्याय’ भएको स्वीकार पनि गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?