वाम उम्मेवारको सुरक्षामा सरकार गम्भीर देखिएन : ओली

काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रचारका क्रममा भोजपुरमा पूर्वसञ्चारमन्त्री तथा प्रदेश सभाका उम्मेदवार शेरधन राईमाथि भएको हमलाको निन्दा गरेका छन् राईमाथि आक्रमण भएपछि एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले निर्वाचन प्रचारका क्रममा रहेका राईमाथि भएको आक्रमणलाई सिंगो पार्टीमाथिको आक्रमणका रुपमा लिएको उल्लेख गरेका छन् अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा संलग्न जो सुकै भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाईरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमण नियन्त्रण गर्न सचेत गराउँछौं ।’एमालेले पार्टीको मागअनुसार संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई सरकारले आवश्यक सुरक्षा उपलब्ध नगराएको भन्दै आलोचना समेत गरेको छ । वाम गठबन्धनका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराएको र सत्ताधारी उम्मेदवारको वरिपरी अनावश्यक भीड जम्मा गरेको ओलीको आरोप छ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरी भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एक पछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्यचकित बनाएको छ ।’एमालेले यस प्रकारका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग समेत गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?