काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रतिनिधिसभामा पेस गर्नेछिन् ।
त्यसैगरी, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि पनि बैठकमा छलफल हुनेछ ।
प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ ।
साथै, प्रभावितलाई उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति तथा वास्तविक भूमिहीन र सुकुम्वासीलाई तत्काल लालपूर्जा वितरण गर्न आवश्यक व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
उक्त प्रस्तावका समर्थक सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन् । बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया