दुई तिहाई ल्याउने यस्तो छ वाम गठबन्धनको रणनीति 

दोलखा, २५ कात्तिक । दोलखा–वाम गठबन्धनले दोलखामा दुई तिहाई भन्दा बढी मत ल्याउने कसरतमा जुटेको छ । वाम गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई तिहाई भन्दा बढी मत ल्याउने गरि रणनीति बनाइरहेको हो ।दोलखामा यस पटक एमाले–माओवादी केन्द्र गठबन्धनसहितका साझा उम्मेदवार बनाइएपछि यस्तो रणनीतिको कसरतमा नेताहरु जुटेका हुन् वाम गठबन्धनले दोलखाका सबै सरोकारवाला पक्षलाई गोलबन्द गर्दै ८० प्रतिशत भन्दा बढि भोट खसाल्ने रणनीति बनाएको एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश २ का सांसद उम्मेदवार पशुपति चौलागाईले बताए । गठबन्धनले कांग्रेसका केही आधार इलाकालाई बढी केन्द्रित गरि चुनावी प्रचार अगाडि बढाउने र अन्य ठाउँमा आफनो बर्चस्व कायम राख्ने गरी चुनावी यात्रामा होमिएको छ ।  उसले कांग्रेस वाहेकका सबै शक्तिहरुलाई आफ्नो पक्षमा तान्दै दुई तिहाई भन्दा बढि मत प्राप्त गर्ने रणनीति अख्तियार गरेको हो । त्यसका लागि उम्मेदवारी दर्ता गराएका साना दलहरुसँग पार्टी एकता गर्ने र ती पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई साथमा लिई आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने बाम गठबन्धनको योजना छ नयाँ शक्ति पार्टी, नेपाल र संघिय समाजवादी फोरम नेपाल गठबन्धनमा सामेल छ भने ती दलबाट प्रतिनिधिसभा र समानुपातिकतर्फ उम्मेदवारी दिएकाहरुले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन जनाएको घोषणा गरिसकेका छन् ।निर्वाचनको अन्तिमसम्म जिल्लाका अन्य साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई पनि आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने संयुक्त वाम गठबन्धनले जनाएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पार्बत गुरुङले कांग्रेस बाहेकका साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई गठबन्धनमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए । चुनावको अन्तिम समयसम्म दोलखामा कांग्रेस एक्लै हुने र गठबन्धनको पक्षमा दुई तिहाई मत खस्ने गुरुङको दावी छ ।दोलखा वामपन्थीहरुको बर्चस्व रहेको जिल्लाका रुपमा चिनिन्छ त्यसमा पनि मुख्य वामपन्थी पार्टीहरु एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेत भएपछि वाम गठबन्धन अत्याधिक मत ल्याउनुपर्ने दवावमा छ । त्यसका लागि दोस्रो विकल्पमा कांग्रेस सहित अन्य दलका पदाधिकारी सहित जिम्मेवार नेता कार्यकर्तालाई तान्ने कसरतमा गठबन्धनका उम्मेदवार तथा नेताहरु लागेका छन् । चुनावी अभियानका क्रममा राप्रपाका जिल्ला सचिव, काग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरुलाई गठबन्धनले प्रवेश गराईसकेको छ ।वाम गठबन्धनले जिल्ला स्थित सबै पेशागत संघ संगठन र आफ्ना भातृ संस्थाहरुलाई चुनावको तयारीमा होमिइसकेको छ । दुवै पार्टीका युवा, विद्यार्थी संयुक्त भेलाले जिल्लाको ९४ वटै बुथहरुमा सुरक्षा कमाण्डरहरु खटाइसकेको छ । ती कमाण्डहरुको नेतृत्वमा एक बुथमा दुई सय युथ खटाउने उनीहरुको दावी छ ।यसैगरी करिव १५ सय शिक्षक र ५ सय बुद्धिजिवी वाम गठबन्धनको चुनावी प्रचारमा सक्रिय छन् भने कर्मचारीहरुलाई त्यही अनुसार परिचालन गरिँदैछ । जिल्ला स्थित उद्योगी व्यवसायीहरुले पनि वाम गठबन्धनलाई विजयी गराउन सक्दो सहयोग गर्ने घोषणा गरिसकेका छन् । शुक्रवार दुबै पार्टीका कर्मचारी संगठनको संयुक्त भेलाले एउटै संगठन बनाउने र निर्वाचनमा गठबन्धनको पक्षमा उभिने निर्णय गरेको छ ।प्रदेशसभा १ नम्वर क्षेत्रका उम्मेदवार विशाल खड्काले गठबन्धनलाई जिताउन सिंगो जिल्लालाई एकढिक्का बन्दै गएको बताए । जिल्लामा ८० प्रतिशत भन्दा बढि मत गठबन्धनको पक्षमा खस्ने निश्चित भएको खड्काको भनाई छ एमाले र माओवादी केन्द्रले जिल्लादेखि स्थानीय स्तरसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्लाको २ नगर र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह र ७४ वटै वडामा संयुक्त निर्वाचन परिचालन समिति खडा गरेको छ । उक्त संयुक्त निर्वाचन परिचालन समिति मातहत अन्य सहायक संगठनहरुको छुट्टै चुनाव परिचालन समिति बनेको छ । वाम गठबन्धनका उम्मेदवारहरु फरक फरक निर्वाचन चिन्हमा लडेका कारण मत विग्रन सक्ने र विगतको तिक्तताका कारण एक दलको मतदाताले अर्को दलका उम्मेदवारलाई मत दिनेमा धेरै आशंका व्यक्त भैरहेका छन् गठबन्धनका उम्मेदवार र नेताहरुले पनि उक्त समस्यालाई महसुस गरी मतदाताहरुलाई कन्भिन्स गर्नमा धेरै समय खर्चिरहेका छन् ।चुनावी कार्यक्रमहरुमा उनीहरुले एउटै कम्युनिष्ट पार्टी बन्ने भएका कारण विगतको सवै तिक्तता विर्सि्दिन जोडतोडका साथ आग्रह गर्ने गर्छन् । स्थानीय निर्वाचनका क्रममा जुँगुमा भएको घट्नापछि एमाले र माओवादी केन्द्रबीचको दरार उत्कर्षमा पुगेको थियो । तर उक्त घट्नाले पैदा गरेको समस्या पनि करिव साम्य भैसकेको नेताहरुको दावी छ ।दोलखामा १ लाख ४७ हजार ९ सय २३ जना मतदाता रहेका छन् । त्यसैगरि आज दोलखाको जिलुमा आयोजित चुनावी सभामा बोल्दै वाम गठबन्धनका नेताहरुले दोलखामा वाम बठबन्धनको जित नभई अत्यधिक बहुमतका साथ विजयी हुने दाबी गरेका छन् ।  कार्यक्रममा एमाले नेता तथा दोलखाबाट प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङले दोलखामा वाम गठबन्धनको बहुमत आउने र दोलखाली जनताको सम्बृद्धिको लागि सदैव लागिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?