काठमाडौं । विद्यार्थी भिसा, एसएसडब्लु भिसापछि यतिबेला जापानमा मौलाएको अर्को भिसा हो ‘ब्याचलर भिसा’ । जापान सरकारको क्याटेगोरीमा सिधै ब्याचलर भिसा भनेर कुनै भिसा त उपलब्ध छैन, तर बिजनेस म्यानेजर भिसा भने अस्तित्वमै छ । यही बिजनेस म्यानेर भिसा अर्थात् ब्याचलर भिसाको व्यापक दुरुपयोग हुने गरेको पाइएको छ ।
नेपालबाट जापानमा रोजगारीका लागि भन्दै ब्याचलर भिसाका नाममा १८ लाख रुपैयाँसम्म असुल गरेर नेपालीहरूलाई जापानको विभिन्न सहरमा पठाएर अलपत्र पार्ने गरेको पाइएको छ । पछिल्लो समय डंकी रुटबाट अमेरिका जाने बाटो करिब करिब बन्द नै भएपछि रुकुम, दाङ, सल्यान, रोल्पालगायतका जिल्ला व्यक्ति नक्कली कागजात तयार पारेर ब्याचलर भिसाका नाममा जापान पुगिरहेको पाइएको छ । यता गोरखा, धादिङ, नुवाकोटलगायतका स्थानबाट समेत धेरै मानिस ब्याचलर भिसाका नाममा जापान पुगेका छन् ।
नक्कली सर्टिफिकेटका आधारमा जापान !
बिजनेस म्यानेजर भिसा अर्थात् ब्याचलर भिसाका नामबाट जापान पुगेका अधिकांश नेपाली नागरिकको शैक्षिक प्रमाणपत्र नै नक्कली हुने गरेको पाइएको छ । टोकियोमा रहेर नेपाली समुदायलाई काममा लगाउने एक नेपालीले भने, ‘ब्याचलर भिसा भनेर जापानमा आउने अधिकांशले एसएसलीसम्म मात्रै पास गरेका रहेछन् । कति मान्छे त ८ कक्षा मात्रै पढेका पनि रहेछन् । अनि ब्याचलर पास गरेको भनेर आउनेको न भाषा छ, न काम गर्ने तरिका र बुद्धि नै छ । काममा लगाएको एक सातामा कामबाट निकालिदिने समस्या छ ।’
हुन त बिजनेस म्यानेजर भिसा लिएर जापान पुगेका सबै नक्कली सर्टिफिकेट भएकाहरू होइनन् । कतिपयका कागजात सक्कली पनि छन् । तर सक्कली कागजातबाट आवेदन दिई भिसा प्राप्त गरी पछि भिसामा समस्या आएमा कानुनी झन्झट हुने भन्दै कतिपय कन्सल्टेन्सी र व्यक्तिले सक्कली कागजात हुँदा पनि नक्कली प्रमाणपत्र समेत बनाएर पेस गरेको पाइएको छ ।

सक्कली कागजात हुँदाहुँदै किन नक्कली सर्टिफिकेट पेस गरियो त भन्ने प्रश्नमा जापानमै नेपालीहरूलाई रोजगारीमा लगाइरहेका एक एजेन्टले भने, ‘सक्कली कागजातमै भयो भने भोलि अनेक समस्या आउन सक्छ, नक्कली भयो भने त उनीहरूले पनि केस गर्न मिलेन नि ।’
जापानका केही उद्योग वा कम्पनीले सुरुमा बिजनेस म्यानेजर भिसाका रूपमा उपलब्ध गराउने भनिएको यस्तो भिसा कार्यालयको फ्रन्ट अफिसमै बसेर काम गर्ने, कामको व्यवस्थापन गर्ने र निगरानी तथा समन्वय गर्ने भन्ने नै थियो ।
कम्तीमा ब्याचलर पास गरेका व्यक्तिहरू कस्टोमर डिलिङमा योग्य हुन्छन्, उनीहरूले राम्रोसँग बुझ्छन् र बुझाउन सक्छन् भन्ने नै हो । सुरुमा जापनिज भाषाको लेभल ४ वा लेभल ५ उत्तीर्ण गरी स्नातक उत्तीर्ण गरेकाहरूलाई यो भिसा उपलब्ध गराइने गरिएको थियो । तर नेपाली कागजातमा कैफियत भेटिएपछि यतिबेला जापानले भिसा नवीकरणमा अत्यन्तै जटिलता ल्याइरहेको छ । कतिपय अवस्थामा इमिग्रेसनमा सक्कल सर्टिफिकेटसमेत माग गरिएको बताइएको छ ।
२१ लाख रुपैयाँसम्म लिएर बिचल्ली
नेपालबाट ब्याचलर भिसाका नाममा २१ लाख रुपैयाँसम्म लिएर जापानमा पठाइएको पाइएको छ । मासिक २१ मान तलब अर्थात् कम्तीमा पनि मासिक २ लाख नेपाली रुपैयाँ कमाई हुने र ३ महिनापछि नै श्रीमान् वा श्रीमतीलाई समेत लैजान पाइने भन्दै नेपालका केही कन्सल्टेन्सीले फेसबुकमा विज्ञापन नै गरेको पाइन्छ । कतिपय व्यक्तिको हकमा भने पहिले जापान गएका, जापानमा सोही भिसामा गएकाबाट सम्पर्क हुँदै जापान जाने गरेका छन् ।
उनीहरूले जापान जानका लागि कन्सल्टेन्सी वा व्यक्तिहरूलाई २१ लाख रुपैयाँसम्म बुझाएको पाइएको छ । सुरुमा १५ लाख रुपैयाँ लाग्ने कुरा गरिएपनि कति वर्षको भिसा आउँछ, पछि त्यहीअनुसार रकम बढ्दै गएको पाइएको छ ।

सोह्रखुट्टेको एक कन्सल्टेन्सीमार्फत करिब १० महिना अगाडि जापान पुगेकी एक महिलाले लोकपथसँग भनिन्, ‘हामीलाई सुरुमा १२ लाख रुपैयाँ जति रकम लाग्छ भनिएको थियो । तर पछि जापानमा वकिलको खर्च बढेको भन्दै १८ लाख लाग्ने भनियो । तर हामीले १८ लाख तिर्न नसक्ने भनी अप्लाइ नै गरेनौँ । पछि उनीहरूले नै फोन गरेर १५ लाखमै गरिदिन्छौँ आउनुस् भनेपछि हामी गयौँ ।’
ती महिलाले थपिन्, ‘उनीहरूले एक वर्षको भिसाका कुरा गरेका थिए, तर पछि ३ वर्षको भिसा आएपछि हामीसँग १८ लाख रुपैयाँ नै मागे । १५ लाखमा कुरा भएको किन १८ लाख भन्दा १ वर्षका भिसाका लागि १५ लाख भनेको हो, ३ वर्षको त १८ लाख नै लाग्छ भने ।’
हाल जापानमा बेरोजगार रहेकी ती महिलालाई कन्सल्टेन्सीले जागिरमा लगाइदिने सर्तमै पठाएको थियो । प्लास्टिक कम्पनीमा बिजनेस म्यानेजरको भिसा भनेर १८ लाख रुपैयाँ लिएर पठाएपनि उक्त कम्पनी रिसाइकल कम्पनी थियो । अत्यधिक श्रम गर्नुपर्ने काम भएकाले सबैका लागि सहज पनि थिएन । पछि काम गर्न नसकेपछि अर्को कम्पनीमा लगाइदिन्छु भनेपनि लामो समयदेखि उनी बेरोजगार नै छिन् । १८ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाएको, हवाई टिकट, सपिङलगायतका अन्य खर्च गरी कुल २१ लाख खर्च गरी जापान गएकी उनले हालसम्म २ लाख रुपैयाँ मात्रै ब्याज तिर्न पठाएकी छिन् । बाँकी ब्याज र सावा कसरी तिर्ने भन्ने उनलाई चिन्ता छ ।
कमाईले खान र बस्नमै ठिक्क !
दैनिक ८ घण्टा नियमित काम र करिब २ घण्टा ओभर टाइम गरेर दैनिक १० घण्टा काम गर्न पाइने र मासिक करिब २ लाख ७० हजार रुपैयाँसम्म कमाई हुने भनिएपनि जापानको यथार्थ फरक छ ।
अहिले जापानमा सामान्य नेपाली वा भर्खरै जापान गएका नेपालीले बढी काम पाउने स्थान भनेको बेन्तो हो । बेन्तो भन्नाले लन्च बक्स अर्थात् खाना र खाजा प्याकिङ गर्ने काम हो, जुन काम विशेषतः महिलाहरूका लागि क्यास अन ह्यान्ड वा नगदमै गराइन्छ । बैंक खातामै तलब भुक्तानी गर्ने गरेर पनि यस्तो काम पाउन सकिन्छ, तर चिनजानका व्यक्ति भएमा मात्रै । अनि यो काम पनि दैनिक ४ देखि ६ घण्टा र सातामा ४ देखि ६ दिनभन्दा बढी पाउन कठिन छ ।

सातामा बढीमा २८ घण्टा यस्तो काम पाएमा पनि अहिले टोकियो सहरको न्यूनतम तलबमान प्रतिघण्टा १ हजार २२६ जापानी ऐन मात्रै छ । यसरी हेर्दा महिनाभर नियमित काम पाउँदा पनि बढीमा १ लाख ५० हजार जापानी ऐन भन्दा बढी कमाउन सक्ने अवस्था छैन ।
तर जापानको बसाई अत्यन्तै महँगो छ । नेपालबाट ब्याचलर भिसामा जाने अधिकांश व्यक्ति होस्टेलमा नै बस्ने गरेका छन् । उनीहरू होस्टेलमा बस्दा पनि होस्टेलको खर्च र खाना गरेर मासिक कम्तीमा ४५ हजार जापानी ऐन त खर्च नै हुन्छ । होस्टेलको सानो कोठामा पनि कम्तीमा २ जनादेखि कोठाको आयतन हेरी ३ देखि ४ जनासम्म राख्ने गरिएको छ ।
१ लाख ५० हजार मासिक कमाई हुँदा मासिक खाना र बास खर्च ५० हजार, ट्रेनको भाडा मासिक करिब २० हजार रुपैयाँ, मोबाइल खर्च आदि गर्दा मासिक कम्तीमा ९० हजार रुपैयाँ खर्च हुने गरेको छ । यस्तो अवस्थामा मासिक बढीमा ६० हजार रुपैयाँभन्दा बढी बचत हुने सम्भावना निकै कम रहेको अहिले जापानमा रोजगारी खोजिरहेकी काठमाडौंकै एक ३४ वर्षीय महिलाले बताइन् ।
पाइलैपिच्छे दलाल
अहिले जापानमा ब्याचलर भिसामा जानेहरू सबैभन्दा बढी ठगिएका छन् । उनीहरूलाई पाइलैपिच्छे ठगी गर्ने गरिएको पाइएको छ ।
ब्याचलर भिसा प्राप्तिका लागि वास्तवमा एक रुपैयाँ पनि लाग्दैन । तर जापानमै लामो समय बसेका नेपालीहरू, नेपालका कन्सल्टेन्सी आदिले जापान आउन चाहनेसँग भने मोटो रकम असुल गर्ने गरेका छन् । पहिले अमेरिका जान डंकी रुट प्रयोग गर्नेहरू अहिले जापान जान ब्याचलरको नक्कली सर्टिफिकेट बनाइरहेका छन् ।
जापानबाटै भिसाका सबै काम गरिदिने व्यक्ति वा कम्पनीले पनि नेपाली कन्सल्टेन्सीबाट बढीमा ९ लाख रुपैयाँसम्म मात्रै लिएका छन् । तर नेपालका कन्सल्टेन्सीहरूले भने कम्तीमा १८ लाख र बढीमा २१ लाख रुपैयाँसम्म लिएको पाइएको छ । उनीहरूले जापानमै पठाउनुपर्ने रकममा आफूले त ५० हजारदेखि १ लाख रुपैयाँसम्म मात्रे राखेको भन्ने गरेका छन्, जबकि उनीहरूले जापानमा रहेका व्यक्ति वा संस्थालाई पठाउने रकमभन्दा कम्तीमा दुई गुणा अर्थात् डबल रकम असुल गरिरहेका छन् ।

वास्तवमा जापानमा भिसा प्राप्तिका लागि कानुन व्यवसायीमार्फत काम गराउँदा प्रतिव्यक्ति बढीमा १ लाख ३० हजार जापानी ऐन खर्च हुन्छ । त्यसबाहेक सबै रकम पाइलैपिच्छे रहेका दलाल र एजेन्टहरूले लिने गरेका छन् ।
जापानमा पुगिसकेपछि पनि काम पाउन वा राम्रो काम पाउनका लागि समेत त्यहाँका दलाललाई ३ लाख रुपैयाँसम्म रकम बुझाउने गरिएको छ । नेपालबाट जाँदा नै कामसमेत ग्यारेन्टी भएकाले ३ लाख बढी तिर्ने भएकाले उनीहरूलाई कन्सल्टेन्सी वा व्यक्तिले नै काममा लगाइदिन्छन् भने आफै काम खोज्ने गरी गएकाहरूले थप रकम तिरेर काम खोजिरहेका छन् ।
तर काम लगाइदिने भनेर सहमति भएकाहरूका हकमा पनि एकपटक मात्रै काम लगाइदिने र पछि काम छाडेमा अर्को काम नखोजिदिनेलगायतका समस्या रहेको पाइएको छ ।
भिसा नवीकरणमा तगारो, धमाधम फर्काइँदै छ नेपाली
नक्कली कागजातका आधारमा जापान पुगेका र भनेको कम्पनीमा काम नगरी अन्यत्र काम गर्ने नेपालीको भिसा नवीकरणमा समस्या देखिन थालिसकेको छ । अझ अहिले त जापान सरकारले बिजनेस म्यानेजर भिसाका लागि कम्तीमा एनटु अर्थात् जापनिज भाषाका लेभल २ उत्तीर्ण गर्नुपर्ने नयाँ नियम ल्याएको छ । यो नियम लागू भएसँगै ब्याचलर भिसामा जापान पुगेका अधिकांश नेपाली फर्कनुपर्ने अवस्थामा पुगेका छन् । अझ १८ लाख रुपैयाँ खर्च गरेर एक वर्षको मात्रै भिसा प्राप्त गरेकाहरू यो नयाँ नियमबाट बढी पीडित हुने अवस्था छ ।
(लोकपथ डटकमका समाचार संयोजक मदन ढुङ्गाना करिब ११ दिन जापानको टोकियो, योकोहामालगायतका स्थानमा पुगी नेपाली नागरिकसँग कुराकानी समेत गरी नेपाल फर्किएका छन् । जापानमा विद्यार्थी भिसा, रोजगार भिसा, बिजनेस म्यानेजर भिसा आदिको अवस्था, रोजगारीको अवस्था, त्यहाँका समस्या आदिबारे विभिन्न व्यक्ति, समुदाय र संस्थासँग कुराकानी गरेका छन् । त्यस सम्बन्धमा देखिएका विषयहरू लोकपथमा क्रमैसँग प्रकाशन हुनेछन् । -सम्पादक)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया