यस्तो छ शीर्ष नेताको निर्वाचन प्रचार अभियान

काठमाडौँ, २५ कात्तिक- वारेसनामामार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा अझै पुगेका छैनन् । शनिबार ताप्लेजुङबाट उनले पार्टीको प्रचार अभियान सुरु गर्दै छन् । ताप्लेजुङपछि उनले पाँचथर र सोलुखुम्बुमा चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वबाट फर्किएपछि देउवा सुदूरपश्चिमी जिल्ला जाँदै छन् । २९ कात्तिकमा उनी कैलाली पुग्नेछन् । ३० कात्तिकमा बल्ल डडेल्धुरा पुग्नेछन् । त्यसपछि लगातार बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम, दार्चुला, कञ्चनपुरका चुनावी सभामा चार–पाँच दिन बिताउने उनका स्वकीय सचिव भानु देउवाले बताए, नयाँ पत्रिकामा खबर छ यस्तै एमाले अध्यक्ष केपी ओली शुक्रबार गृहजिल्ला झापा पुगेका छन् । केही दिन उनी झापामै रहने एमाले जिल्ला सचिव मदन अधिकारीले बताए । शुक्रबार उनले भद्रपुरको सिटी गार्डेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । साँझ गृहनगर दमकमा कार्यकर्तासँग भेटघाट गरेका छन् । ओलीले शनिबार दिउँसो १२ बजेपछि आफ्नो निर्वाचन क्षेत्रमा बढी समय दिनेछन् । ‘२५ देखि २७ गतेसम्म उहाँ आफ्नै निर्वाचन क्षेत्रमा बस्नुहुनेछ,’ सचिव अधिकारीले भने । झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत स्थानका कार्यक्रममा उनी व्यस्त रहनेछन् । २७ कात्तिकमा राजधानी फर्किए पनि ओली २ मंसिरमा पुनः झापा पुग्ने कार्यक्रम छ चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणको प्रचार अभियानअन्तर्गत पाँच दिन चितवनमा बिताए । १८ कात्तिकमा उनले आफ्नो निर्वाचन क्षेत्र शिवनगर, जगतपुर र माडीमा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गरे । १९ कात्तिकमा चनौली, गीतानगर, देवनगरमा संयुक्त निर्वाचन कार्यालय उद्घाटन गरे । दोस्रो चरणअन्तर्गत उनले बिहीबार गंगानगर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका छन् । प्रचण्डले शुक्रबार भरतपुर–९ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?