काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले ठप्प रहेको नेपाली चिया निर्यात खुलाउन भारतसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।
साथै किसानलाई मल अभाव हुन नदिन र सीमावर्ती क्षेत्रको विकासमा ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चिया उद्योग, कृषि तथा सीमावर्ती क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद सुहाङ नेपालले टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिका कारण नेपाली चिया निर्यात ठप्प भएको भन्दै यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको बताए । उनले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरी निर्यात अवरोध हटाउन र चिया किसान तथा उद्योगीको संरक्षणका लागि ठोस नीति ल्याउन सरकारसँग माग गरे ।
उनले भने, ‘टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले चिया निर्यात ठप्प हुन पुगेको छ । यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ । त्यसैले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस् र चिया उद्योग तथा किसानको संरक्षणका लागि ठोस नीति बनाइयोस् ।’
यस्तै, सांसद सुनिल केसीले किसानले समयमै आवश्यक मल पाउने सुनिश्चितता गर्न सरकारलाई दबाब दिए । उनले मेलम्ची खानेपानी आयोजना अझै पूर्ण रूपमा सञ्चालन हुन नसकेको भन्दै काठमाडौंवासीले कहिलेसम्म खानेपानीको समस्या झेल्नुपर्ने हो भन्ने प्रश्न गरे ।
उनले तीनकुनेको सार्वजनिक जग्गा कब्जासम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग जवाफ माग्न पनि सरकारसँग आग्रह गरे ।
सांसद सुरेशकुमार चौधरीले भारतीय सीमावर्ती क्षेत्रमा आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै सडक, विद्युत, स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता सेवाको विस्तारमा सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले बाँके र बर्दियालगायत सीमावर्ती जिल्लाका धेरै गाउँ विकासबाट पछाडि परेको भन्दै त्यहाँका जनताको समस्या समाधानका लागि विशेष योजना आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया