जीपीएस र क्यासलेस प्रणाली अनिवार्य बनाउँछौँ : पुण्यप्रसाद सिटौला

लोकपथ
70
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ ।

महाधिवेशनको दोस्रो दिन आज बिहान ७ बजेदेखि नै देशभरबाट आएका प्रतिनिधिहरूले विद्युतीय भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान गरिरहेका छन् । महासंघको केन्द्रिय अध्यक्ष पदका दाबेदार पुण्यप्रसाद सिटौलाले मतदान प्रक्रियामा उत्साहजनक सहभागिता रहेको बताउँदै आफ्नो विजय सुनिश्चित भएको दाबी गरे ।

लामो समयदेखि यातायात क्षेत्रमा क्रियाशील सिटौला यसअघि वि.सं. २०७९ को गोदावरी महाधिवेशनबाट अत्याधिक मतका साथ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनको सन्दर्भमा बोल्दै सिटौलाले सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गरे । सिटौलाले आफ्नो नेतृत्वमा सार्वजनिक यातायातको गुरुयोजना कार्यान्वयन गरिने र भौगोलिक अवस्थाअनुसार सवारी साधनको व्यवस्थापन गरिने बताए । यातायात क्षेत्रमा विद्यमान बीमा नीतिको समस्यालाई सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए । हालको बीमा व्यवस्थाले घाइतेको उपचारमा हुने ठूलो खर्च धान्न नसक्ने भन्दै उनले बीमा नीतिमा आमूल परिवर्तनका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘अबको सार्वजनिक यातायात परम्परागत ढर्राबाट चल्न सक्दैन । हामीले जीपीएस सिस्टम, अनलाइन टिकेटिङ र क्यासलेस भुक्तानी प्रणालीलाई अनिवार्य कार्यान्वयनमा लैजानुपर्छ । उपत्यका, पोखरा जस्ता सहरहरू र लामो तथा मध्यम दूरीका सडकका लागि फरक–फरक यातायात मोडालिटी आवश्यक छ । ठूला सडकमा १०० देखि १५० यात्रु बोक्ने ठूला सवारी चलाउने र साना सडकमा सोही अनुसारको व्यवस्थापन गर्ने खाका हामीसँग छ ।’

यसका साथै यातायात व्यवसायी र मजदुरहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ । सिटौलाले सरकारद्वारा गठित विभिन्न आयोगका प्रतिवेदनहरू अध्ययन गरी तिनको कार्यान्वयनका लागि वर्तमान सरकारसँग समन्वय गर्ने बताए । काठमाडौं उपत्यकाको ट्राफिक जाम र अस्तव्यस्ततालाई न्युनिकरण गर्न वैज्ञानिक सडक व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले व्यवसायी र मजदुरको हकहितका लागि आफू सधैँ तत्पर रहने समेत बताए । महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?