धनगढीको गौरीफन्टा नाकामा भन्सार कडाइपछि नेपालतर्फको व्यापारमा चहलपहल बढ्यो

लोकपथ
56
Shares

धनगढी । भारततर्फबाट आयात हुने सामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि कैलालीस्थित गौरीफन्टा नाकाको नेपालतर्फको बजारमा व्यापारिक गतिविधि बढेको छ । एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क कडाइका साथ लागू भएपछि नेपाली उपभोक्ताहरू सीमा पारी नगई स्वदेशी बजारमै किनमेल गर्न थालेका छन् ।

पहिले सामान्य किनमेलदेखि ठूला खरिदका लागि समेत भारतीय बजारमा जाने स्थानीय उपभोक्ता अहिले नेपाली बजारमै निर्भर हुन थालेपछि धनगढीका व्यवसायीहरूलाई व्यापारमा केही सुधार भएको अनुभव भएको छ ।

स्टेशनरी व्यवसायी विजयराज पन्तका अनुसार पहिले दैनिक उपभोग्य सामग्रीसमेत सीमा पारी किनिने गरे पनि अहिले स्थानीय बजारमा किनमेल बढेको छ । यद्यपि उनले व्यापार अझै अपेक्षित स्तरमा पुगिनसकेको बताए ।

यसैबीच, उपभोक्ताहरूले भने सीमामा भन्सार जाँचका क्रममा समस्या भोग्नु परेको गुनासो गरेका छन् । धनगढीका कृष्णबहादुर चौधरीले छोरीको विवाहका लागि बनगाउँ बजारबाट ल्याएको तयारी कपडामा भन्सार तिर्नुपरेको अनुभव सुनाउँदै सीमामा प्रहरीसँग विवाद र दबाबपूर्ण व्यवहार हुने गरेको बताए ।

कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाका अनुसार भन्सार कडाइका कारण सीमा पारी किनमेल गर्ने नेपालीहरूको संख्या घटेको छ र धेरै उपभोक्ता पर्ख र हेरको अवस्थामा छन्। उनले एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी जाँच प्रक्रियाले पनि केही समस्या सिर्जना गरेको बताए ।

उनका अनुसार सरकारले पेट्रोलियम पदार्थमा दिएको छुटका कारण चैत महिनाको तुलनामा राजस्व संकलनमा करिब ३० प्रतिशत गिरावट आएको छ । भन्सारमा वस्तुहरूको मूल्यांकन र जाँच प्रक्रिया जटिल हुँदा राजस्वमा असर परेको उनको भनाइ छ ।

स्थानीय व्यवसायीहरूले भन्सार कडाइले राजस्व चुहावट नियन्त्रणमा सहयोग पुगेको बताए पनि विवाह, ब्रतबन्ध जस्ता व्यक्तिगत प्रयोजनका सामानमा भन्सार प्रक्रियालाई व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका छन् । धनगढीका स्थानीय तेजनारायण चौधरीका अनुसार कडाइका कारण अवैध चोरी पैठारीका जोखिम बढ्न सक्ने आशंका पनि छ ।

भन्सार कडाइपछि भारतीय सीमावर्ती बजार बनगाउँमा समेत नेपाली ग्राहकको भीड घटेको छ । पहिले त्यहाँको करिब ९० प्रतिशत ग्राहक नेपाली हुने गरेकोमा अहिले उल्लेखनीय गिरावट आएको व्यवसायीहरूले बताएका छन् ।

स्थानीयले भने नियम कार्यान्वयनलाई प्रभावकारी बनाउँदै व्यक्तिगत प्रयोजनका सामानमा लचकता अपनाए सीमा क्षेत्रको व्यापार र जनजीवन दुवै सहज हुने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?