काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले महिला सांसदहरुको हुर्मत लिने गरी प्रश्न सोधिएको भन्दै सम्बन्धित सञ्चारमाध्यमप्रति कटाक्ष गरेकी छन् ।
पत्रकारिता पृष्ठभूमीबाटै आएकी सांसद धितालले खासगरी पछिल्लो समय फस्टाएको युट्युब च्यानलका गतिविधिमाथि आपत्ति जनाए । उनले युवा महिला सांसदहरुलाई प्रश्न गर्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ’ जस्ता बाह्य आवरणलाई हेरेर प्रश्न गर्ने गरेकोमा आपत्ति जनाइन् ।
उनले मुलधारको मिडिया र युट्युब च्यानल चलाउने (युट्युबर) बिच सोधिने प्रश्न र भाषाकै आधारमा भेद छुट्टिने गरेको समेत बताइन् ।
‘विशेषगरी, युवा महिलाहरूसँग प्रश्न राख्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास देख्दै छु । यो व्यक्तिगत टिप्पणी लाग्ला तर सोच्नुस त यो संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो,’ उनले आपत्ति जनाउँदै सामाजिक सञ्जालमा भनेकी छन्, ‘ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस् । म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस् । मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ ।’
पछिल्लो समय संसदको रिपोर्टिङका क्रममा विषयवस्तु नै नबुझी प्रश्नहरु गर्ने गरेको भन्दै सांसदहरुले नै आपत्ति जनाउँदै आइरहेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेकी छन् :
पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति मेरो सधैं सम्मान र आत्मीयता रहँदै आएको छ। तर लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण मोडमा केही प्रवृत्तिहरूप्रति स्पष्ट रूपमा बोल्नु आवश्यक ठानेकी छु।
विशेषगरी, युवा महिलाहरूसँग प्रश्न राख्दा “राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास देख्दै छु । यो व्यक्तिगत टिप्पणी लाग्ला तर सोच्नुस त यो संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो।
हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएका हौ । तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ, र सार्वजनिक बहसको स्तरलाई घटाउँछ।
यो भन्दै गर्दा हामी आफैं पनि के गर्ने, के नगर्ने भन्नेमा उत्तिकै सचेत हुनुपर्छ । अरुले लगाइदिएको सौन्दर्यको लेपनमै हौसिरहेका छौ भने, आफुलाइ सुधारौ।
तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन। सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन । त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस्।
म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक (intellectual) रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस्। मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ।
प्रश्न गर्ने स्तर उकास्नुहोस्। केही युट्युब च्यानलहरू आफैं मुख्यधारा मिडियासँग प्रतिस्पर्धामा उभिएका छन् आवश्यक परे त्यहाँबाट पनि सिक्नुस्। हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन तयार छौं, र आवश्यक तयारीका साथ उभिनेछौं।
सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै भयो । राम्रो नियत हुँदाहुँदै पनि यस्ता अभ्यासहरूले अन्ततः त्यही संस्कारलाई बलियो बनाउने त हो जसविरुद्ध हामी उभिदै आयौ ।
मिडिया सूचना दिने माध्यम मात्रै होइन, समाजको चेतना निर्माण गर्ने शक्ति पनि हो। यही शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनु तपाइहरुको अपरिहार्य दायित्व हो। हामी आफ्नो भुमिका बाट यति धेरै नभड्कौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया