काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङबिच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्तामा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याए । उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहेको पनि बताएका छन् ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा भिसा नवीकरण नगरी अवैध रूपमा बसेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेका थिए ।
यसैगरी, चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न पनि गृहमन्त्रीले आग्रह गरे ।
दुवै पक्षबीच नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो । उक्त विषयमा चिनियाँ पक्षले सकारात्मक धारणा राख्दै नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्पर रहेको जनाएको छ ।
साथै, पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाबाट हुने आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति चिन्ता व्यक्त गरिएको थियो । यसबारे राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै त्यस्ता समाचार भ्रामक रहेको बताएका छन् ।
भेटवार्तामा दुवै देशबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्दै भविष्यमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सहमति व्यक्त गरिएको गृहमन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया