कांग्रेसको क्रियाशील सदस्यता खारेज गर्न लागिएको हो ? महामन्त्रीद्वयको स्पष्टोक्ति

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनीहरूले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन् ।

पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाएको उनीहरूको भनाइ छ।

महामन्त्रीद्वयले यस अभियानले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता थप सुदृढ हुनेछ ।

विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको पनि उनीहरूले बताएका छन् ।

महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।

महामन्त्रीद्वयले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् :

क्रियाशील सदस्यता खारेज होइन, सुधार र अद्यावधिकको अभियान!!!

नेपाली कांग्रेसका आदरणीय क्रियाशील तथा शुभेच्छुक साथीहरू,

हाल “क्रियाशील सदस्यता खारेज हुँदैछ” भन्ने भ्रम फैलिएको देखिएको छ। यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छु—हामी सदस्यता खारेज गर्ने होइनौं, बरु यसलाई व्यवस्थित, अद्यावधिक र अझ प्रभावकारी बनाउने अभियानमा लागेका छौं।

यस अद्यावधिक प्रक्रियाले हाम्रो संगठनलाई तल्लो तहसम्म अझ सुदृढ बनाउनेछ। पार्टीप्रति प्रतिबद्ध क्रियाशील सदस्यहरूको नवीकरणले संगठनमा अनुशासन, उत्तरदायित्व र एकता झन् मजबुत बनाउने विश्वास लिएका छौं।

पहिलेका अनुभवबाट सिक्दै, यसपटक हामीले प्रविधि र व्यवस्थापनमा विशेष सुधार गरेर सदस्यता प्रक्रिया अगाडि बढाएका छौं, जसले विगतका जटिलता र अन्योललाई हटाउनेछ।

अतः, सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै आफ्नो सदस्यता अद्यावधिक गर्न र पार्टीप्रति आस्था राख्ने सम्पूर्ण साथीहरूलाई क्रियाशील सदस्यता ग्रहण गर्न हार्दिक अपिल गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?