काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सामाजिक सञ्जालमा अम्पायरबारे गरेको टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको छ ।
खेलाडी र अम्पायरबीच हातपात भएमा के हुन्छ भन्ने विषयमा गरिएको अभिव्यक्तिलाई लिएर आलोचना बढेपछि उनले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।
केसीले आफ्नो भनाइलाई मजाकका रूपमा गरिएको जिज्ञासा भएको स्पष्ट पार्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ । क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकाले उक्त मजाकले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु ।’
यसअघि केसीको उक्त टिप्पणीप्रति नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघ (कुसान) ले आपत्ति जनाएको थियो । संघले जारी गरेको विज्ञप्तिमा केसीको अभिव्यक्तिले अम्पायरहरूको पेशागत मर्यादा, आत्मसम्मान र सुरक्षामा असर पारेको उल्लेख गरिएको छ ।
कुसानले यस्ता अभिव्यक्ति खेलकुदको मर्यादाविपरीत रहेको भन्दै रोकथामका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने माग गरेको छ । साथै, संघले नेपाल क्रिकेट संघ (क्यान) समक्ष समेत केसीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको छ ।
केसीले यसअघि एक पेजमा अम्पायर र अम्पायरको निर्णयलाई लिएर विवादास्पद टिप्पणी गरेका थिए, जसले खेल समुदायभित्र व्यापक चर्चा र प्रतिक्रिया निम्त्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया