होटल व्यवसायी महासंघको अध्यक्षमा टीआर भण्डारी निर्विरोध निर्वाचित

लोकपथ
105
Shares

काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशनबाट टीआर भण्डारी (शंकर) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न महाधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले पर्यटन तथा होटल क्षेत्रलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीको हकहित संरक्षणलाई प्राथमिकता दिने बताए ।

महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रका सरोकारवालाले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?