पोखरामा ३३ अर्बभन्दा बढीका गौरवका आयोजना, महानगरलाई आधुनिक सहर बनाउने लक्ष्य

लोकपथ
147
Shares

पोखरा । पोखरा महानगरपालिकामा हाल ३३ अर्ब रुपैयाँभन्दा बढी लागतका ठूला तथा गौरवका विकास आयोजना सञ्चालनमा रहेका छन् ।

मेयर धनराज आचार्यका अनुसार अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगमा पोखरालाई आधुनिकसुरक्षितपर्यटकी सहरका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न परियोजनाहरू अघि बढाइएका छन् ।

प्रमुख आयोजनामध्ये कोरियन सरकारको करिब २ अर्ब रुपैयाँ सहयोगमा अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ, जसको डिजाइन ‘घोप्टिएको डुङ्गा’ आकारमा हुनेछ। यो संरचना पोखराको पहिचान झल्काउने पर्यटकीय आकर्षण हुने अपेक्षा गरिएको छ भने यसबाट करिब ३ हजार रोजगारी सिर्जना हुने बताइएको छ ।

त्यस्तै, कोइका (KOICA) को सहयोगमा जलन उपचार केन्द्रसहितको अत्याधुनिक अस्पताल निर्माण भइरहेको छ । एशियाली विकास बैंक (ADB) को सहयोगमा लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन केन्द्रको टेन्डर प्रक्रिया अघि बढाइएको छ ।

पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने योजना पनि एडीबीकै सहयोगमा अघि बढिरहेको छ । शान्ति वाटिकामा बोटानिकल गार्डेन निर्माण भइरहेको छ भने पुरानो बजार क्षेत्रलाई हनुमानढोका वा बन्दीपुर शैलीमा ‘हेरिटेज साइट’ का रूपमा विकास गर्ने गुरुयोजना तयार गरिएको छ ।

पञ्चासे क्षेत्रमा करिब सवा अर्ब रुपैयाँ लागतको रिसर्च सेन्टर र दुई लेनको स्तरीय सडक निर्माणको तयारी भइरहेको छ । विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति पनि तीव्र गतिमा अघि बढेको छ ।

यसैगरी ‘उज्यालो पोखरा’ कार्यक्रमअन्तर्गत मुख्य चोकहरूमा हाईमास्ट बत्ती जडान गरिएको छ भने मुख्य बजारका विद्युत् तारहरू भूमिगत (अण्डरग्राउन्ड) गर्ने काम पनि जारी छ ।

मेयर आचार्यका अनुसार यी सबै परियोजनाहरूले पोखरालाई पर्यटकीय, आधुनिक र व्यवस्थित महानगरका रूपमा स्थापित गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?