काठमाडौं । इरान सरकारले केही मतभेद भए पनि वार्ता जारी राख्ने जनाएको छ । सामाजिक सञ्जाल एक्समार्फत वार्ता निरन्तर चलिरहने जानकारी दिएको हो ।
इस्लामाबादमा संयुक्त राज्य अमेरिका, इरान र पाकिस्तानबिच भइरहेको त्रिपक्षीय उच्चस्तरीय वार्ता आज बिहानसम्म जारी रहेको बताइएको छ । तर, ह्वाइट हाउसले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
इरानी समाचार संस्था तस्निम न्युज एजेन्सीका अनुसार शनिबार भएको पहिलो चरणको वार्ता करिब १५ घण्टासम्म चलेको थियो ।
अमेरिकी टोलीको नेतृत्व जेडी भान्सले गरेका छन् भने इरानी टोलीको नेतृत्व मोहम्मद बाकर गालिबाफले गरिरहेका छन् ।
वार्तामा इरानले आफ्नो रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न र लेबनानमा पूर्ण युद्धविराम हुनुपर्ने सर्त राखेको छ। अमेरिकाले भने इरानको आणविक र मिसाइल कार्यक्रममा कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।
मतभेद भए पनि दुवै पक्ष आइतबार फेरि वार्तामा बस्ने तयारीमा छन् । ऊर्जा सुरक्षा र विश्व बजारका हिसाबले यो वार्ता निकै महत्त्वपूर्ण मानिएको छ ।
यसैबिच डोनाल्ड ट्रम्पले सम्झौता भए पनि नभए पनि आफूलाई खासै फरक नपर्ने बताएका छन् । ‘हामीले होर्मुज जलसन्धि सफा गरिरहेका छौँ, सम्झौता भए पनि नभए पनि फरक पर्दैन,‘ उनले भने।
इरानी सञ्चारमाध्यमका अनुसार होर्मुज जलसन्धिसम्बन्धी विषयमा अझै सहमति हुन सकेको छैन, जुन वार्ताको सबैभन्दा संवेदनशील विषय हो ।
ट्रम्पले चीनलाई पनि चेतावनी दिँदै इरानलाई हतियार आपूर्ति गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । साथै, उनले इरानको सैन्य क्षमता कमजोर भइसकेको र अमेरिकाले होर्मुज क्षेत्रमा बारुदी सुरुङ हटाउने काम सुरु गरिसकेको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया