कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरस्थित सबस्टेसनदेखि विमानस्थल प्रवेश मार्गसम्म रहेका २९ वटा पोल नहटाउँदा सर्भिस लेन र फुटपाथ निर्माण रोकिएको हो।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन । विमानस्थलले आफ्नै संरचनामार्फत डेडिकेटेड लाइन प्रयोग गर्दै आएको छ ।
प्राधिकरणका अनुसार उक्त क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसकेको भए पनि विमानस्थलले भुक्तानी नगरेसम्म सेवा सञ्चालन गर्न सकिँदैन । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थलले करिब १ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए ।
‘भूमिगत प्रणाली सञ्चालनमा आएपछि मात्र पोल हटाउन सकिन्छ,‘उनले भने, ‘भुक्तानी नआएसम्म सेवा सुरु गर्दा कानुनी समस्या आउन सक्छ ।’
हाल विमानस्थलमा पुरानै संरचनाबाट विद्युत् आपूर्ति भइरहेको छ । यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसँग छलफल भइसकेको र समाधान हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।
झन्डै एक किलोमिटर क्षेत्रमा तार भूमिगत गर्न संरचना निर्माण भइसके पनि पोल नहट्दा सडक विस्तारमा ढिलाइ भइरहेको छ । साथै, मापदण्डविपरीतका संरचना हटाउने, खानेपानी पाइप सार्ने तथा रुख व्यवस्थापन गर्न सम्बन्धित निकायलाई ताकेता गरिएको आयोजनाले जनाएको छ ।
पोखरा–जामुने खण्ड चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ठेक्का अवधि तेस्रो पटक थप भई आगामी असार १५ सम्म कायम छ । हालसम्म सडकको भौतिक प्रगति ७७।४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ ।
३८.७१ किमी लामो उक्त सडकखण्डमध्ये ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ भने ३६.३२ किमी सर्भिस लेनमध्ये १७.६६ किमीमा कालोपत्र सम्पन्न भएको छ ।
२०७८ माघमा ठेक्का भई २०८० वैशाखदेखि सुरु भएको भूमिगत विद्युतीकरण आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । पोखराका मुख्य सहरी क्षेत्रमा तार भूमिगत गर्ने काम अन्तर्गत विभिन्न क्षेत्रमा हाल पनि काम भइरहेको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया