नागढुंगा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङ : काममा ढिलासुस्ती भए ब्ल्याकलिस्टमा राखिने चेतावनी

लोकपथ
0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजना नागढुंगा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा ढिलाइ र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले आयोजनाको वस्तुस्थितिबारे विस्तृत जानकारी लिएका थिए । उनले निर्धारित समयमै उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिए ।

आयोजना पक्षले गृहमन्त्रीसमक्ष पेस गरेको प्रतिवेदनमा निर्माण सामग्रीको अभावलाई प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ । विशेषगरी नदीजन्य र खानीजन्य सामग्री उत्खननमा देखिएका कानूनी तथा प्रशासनिक जटिलताका कारण काममा ढिलाइ भइरहेको जनाइएको छ ।

क्रसर उद्योग बन्द हुनु, स्थानीय तहहरूबीच दोहोरो कर प्रणाली, राजस्व दरमा असमानता, एक पालिकाबाट अर्को पालिकामा सामग्री ढुवानीमा प्रशासनिक झन्झट तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिमा ढिलाइजस्ता समस्याले निर्माण प्रभावित भएको बताइएको छ ।

आयोजनाले बेल्खु बगर, घाटबेसी बगर र मलेखु–लाम बगरजस्ता स्थानबाट आवश्यक निर्माण सामग्री उपलब्ध गराउन तथा ढुवानीमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।

गृहमन्त्री गुरुङले भने, ‘कुनै पनि बहानामा ढिलाइ स्वीकार्य हुने छैन । सम्झौताअनुसार काम नभए र गुणस्तरमा कमी पाइए सम्बन्धित कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गरिनेछ ।

उनले यी समस्याको समाधानका लागि सरकार अन्तर–मन्त्रालय समन्वयमार्फत अघि बढ्ने र विकास निर्माणमा हुने प्रशासनिक तथा राजनीतिक अवरोध हटाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?