एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ, आफ्नै खुट्टामा उभिने आँट गरौँ : माधवकुमार नेपाल

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्र सम्पन्न गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको अवसरमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले संगठनात्मक एकीकरणलाई छिट्टै निष्कर्षमा पुर्‍याउने गरी छलफल र समन्वय भइरहेको जानकारी दिए ।

नेता नेपालले हालै सम्पन्न निर्वाचन परिणाम अपेक्षाविपरीत आएको स्वीकार गर्दै यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए । उनले पार्टीभित्र संगठनात्मक कमजोरी, प्रशिक्षणको अभाव र पुरानै मानसिकताका कारण अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख गरे ।

उनले ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै राष्ट्रिय समस्या, राजनीतिक संकट तथा कम्युनिष्ट आन्दोलनले सामना गर्नुपर्ने चुनौतीबारे गहन छलफल भइरहेको बताए । छलफलबाट छिट्टै निष्कर्ष निकालिने उनको भनाइ थियो ।

नेता नेपालले पार्टी एकीकरणपछि पनि विभिन्न संरचना अझै पूर्ण रूपमा एकीकृत हुन नसकेको उल्लेख गर्दै पार्टी कमिटी, जनवर्गीय संगठन तथा प्रवासमा रहेका संगठनहरूलाई एकताबद्ध गर्ने काम बाँकी रहेको स्पष्ट पारे ।

उनले २६ वटा घटकलाई समेटेर एकीकृत संरचना निर्माण गर्ने तयारी भइरहेको जानकारी दिँदै एक हप्ताभित्र संगठनात्मक एकीकरण टुंग्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।

नेता नेपालले महिलालाई जिल्लादेखि राष्ट्रिय स्तरसम्मका समस्या पहिचान गरी सक्रिय भूमिका खेल्न निर्देशन दिँदै सामाजिक समस्या समाधानमा महिला संगठनको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

उनले एकताले मात्र सबै कुरा नहुने भन्दै जनताको मन जित्न आफ्नै खुट्टामा उभिने आत्मविश्वास आवश्यक रहेको धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?