आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने चिकित्सक संघको अडान

लोकपथ
84
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयन गर्न नसकिने जनाएको छ ।

संघका महासचिव डा.सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै अस्पतालमा आवश्यक जनशक्ति नथपिएकाले आइतबार ओपीडी सेवा दिन कठिन हुने बताएका छन् ।

उनका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९ देखि ५ को नियमित ड्युटी बाहेक अनकल, राउन्ड र इमरजेन्सी सेवा २४ घण्टा दिइरहेका छन्, तर यसको समय गणना नहुने अवस्था रहेको छ ।

संघले जनशक्तिको उचित व्यवस्थापन नभएसम्म मन्त्रालयको अनुरोध लागू गर्न नसकिने बताएको छ । साथै, हप्तामा दुई दिन बिदा दिने निर्णय भए पनि सट्टा बिदा व्यवहारमा नपाइएको गुनासो पनि गरेको छ ।

त्यस्तै, इन्धन अभावका कारण बिदा दिने निर्णय भए पनि ओपीडी समय बढाउँदा खर्च र समस्या झन् बढ्ने संघको भनाइ छ ।

संघले स्वास्थ्य मन्त्रालयलाई आफ्नो निर्देशन फिर्ता लिन आग्रह गर्दै माग पूरा नभए चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?