काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभामा उपसभामुख निर्वाचन प्रक्रियामा सहभागी हुँदै उनले हालै गरेको दार्चुला भ्रमण स्मरण गर्दै व्यास गाउँपालिकाको दुम्लिङसम्म पुग्दा बाटो अभावका कारण स्थानीयवासी जोखिमपूर्ण रूपमा महाकाली नदीमा तुइन प्रयोग गर्न बाध्य रहेको बताएका थिए ।
उनका अनुसार सो क्षेत्रमा तुइनबाट खसेर ज्यान गुमाउने घटना सामान्यजस्तै बनेको र कुनै पनि घर परिवार तुइन दुर्घटनाबाट अछुतो नरहेको अवस्था रहेको छ । उनले यस्तो अवस्थाले आफू भावुक बनेको र रोएर फर्किएको पनि बताए ।
सांसद राईले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री र गृहमन्त्रीलाई दार्चुलाको व्यास क्षेत्रमा तत्काल स्थलगत भ्रमण गरी जनताको पीडा प्रत्यक्ष बुझ्न रोस्ट्रमबाटै आग्रह गरे ।
त्यसैगरी उनले संसदमा प्रयोग हुने भाषा र व्यवहार सुधार गर्नुपर्नेमा जोड दिँदै उपसभामुख उम्मेदवार रुवीकुमारी ठाकुर लाई ‘बहिनी’ भनेर सम्बोधन गरिएकोप्रति आपत्ति जनाए ।
उनले ज्येष्ठ नागरिकलाई अपमान गर्ने खालका शब्द प्रयोग नगर्न आग्रह गर्दै उमेरका आधारमा उपहास नगर्न चेतावनी दिए । साथै, संसदमा समर्थन जनाउँदा टेबल–कुर्सी ठोक्ने परम्परालाई ‘अमर्यादित’ भन्दै त्यसको साटो ताली बजाउने संस्कृति विकास गर्न प्रस्तावसमेत गरेका छन् ।
यसैबिच उनले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान ढिलाइ गर्ने विमान कम्पनीहरूलाई कारबाही गर्न पनि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया