राप्रपा सांसद खुस्बु ओलीको आरोप : ‘रास्वपाले राजनीतिक सहमति उल्लङ्घन गर्‍यो’

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले उपसभामुख पदको विषयमा भएको भनिएको सहमति सत्तारुढ दल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तोडेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले रास्वपाले विश्वासको वातावरण बिगारेको र राजनीतिक आचरणमै प्रश्न उठेको बताइन् । उनले पदभन्दा पनि राजनीतिक संस्कार र प्रतिबद्धताको विश्वसनीयता मुख्य विषय भएको जिकिर गरिन् ।

ओलीले राप्रपाले सहकार्य र समझदारीको आधारमा अघि बढ्ने प्रयास गरेको भए पनि त्यसलाई सत्तारुढ पक्षले असफल बनाएको दाबी गरिन् ।

उनले भनिन्, ‘हामीले हिजो दिएको उम्मेदवारी कुनै पद प्रतिको तृष्णा थिएन । यो प्रतिपक्षको अधिकारको अभ्यास थियो। रास्वपासँगको समझदारीपछि सहकार्यको सम्भावनामा सकारात्मक भएर राप्रपा अघि बढेको हो ।’

उनका अनुसार राजनीतिक सहकार्यको आधार विश्वास भए पनि अहिले अविश्वासलाई नै राजनीतिक संस्कारका रूपमा स्थापित गरिएको छ ।

‘अविश्वासलाई नै नयाँ राजनीतिक संस्कार र राजनीतिक करेन्सीमा परिणत गरियो,‘ओलीले भनिन्, ‘राजनीतिक प्रतिबद्धता परिस्थितिअनुसार बदलिने विकल्प मात्र हो कि त्यसमा नैतिक दायित्व पनि हुन्छ ?’

सांसद ओलीले रास्वपाले आफ्नै प्रतिबद्धतामाथि विश्वास नगर्ने प्रवृत्ति देखाएको आरोप पनि लगाइन् । उनले यस्तो शैलीले संसदको राजनीतिक संस्कार कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरिन् ।

उनले नयाँ–पुरानो राजनीतिक विभाजनबारे व्यङ्ग्य गर्दै भनिन्, ‘नयाँ र पुरानो छुट्याउने लोगो बनाइदिनुस्, किनकि अब यहाँ नयाँ–नयाँको पनि सिन्डिकेट बनाउन खोजिएको जस्तो देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?