काठमाडौं । वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन विभाग आसपासका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) लाई निर्देशन दिएको छ ।
विभागले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ लगायतका सूचनाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पारेको भन्दै त्यस्ता सूचना तत्काल हटाउन निर्देशन दिएको हो । उक्त सूचना चैत ३० गतेभित्र हटाइसक्न पनि विभागले आग्रह गरेको छ ।
विभागका अनुसार श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण सेवा वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र प्रदान हुने व्यवस्था रहेको छ । गैरकानुनी रूपमा यस्ता सेवा उपलब्ध गराइनेजस्तो प्रचारप्रसारले सेवाग्राहीमा गलत बुझाइ सिर्जना हुने विभागको भनाइ छ ।
विभागले जारी गरेको सूचनामा यस्ता भ्रमपूर्ण लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न समेत अनुरोध गरिएको छ । साथै निर्देशनको अवज्ञा गरे वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया