कास्की । गत चैत २५ गते पोखराको सभागृह चोकमा भएको महिला हत्यामा संलग्न दुई जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । चैत २५ गते साँझ खुँडा प्रहार गरी हत्या गरिएकी सिर्जना पौडेल केसीमाथि आक्रमण गर्ने व्यक्ति स्थानीय २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी रहेको खुलेको छ ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार सन्तोष केसी र अर्का एक सहयोगीले सिर्जनामाथि पृथ्वीचोकको सडकपेटीमा खुँडा प्रहार गरी हत्या गरेका हुन् । हत्या लगत्तै पोखराबाट भागेर बुटवल पुगेका सन्तोषलाई रुपन्देही प्रहरी र कास्की प्रहरीको टोलीले बिहीबार राति पक्राउ गरी शुक्रबार अपराह्न कास्की ल्याएको छ ।

गत चैत २५ गते बुधबार साँझ ७ बजेर ६ मिनेटको समयमा पृथ्वीचोकको सडकपेटीमा उभिइरहेकी सिर्जनामाथि एक व्यक्तिले खुँडा प्रहार गरेका थिए । खुँडा प्रहार भएपछि चिच्याउँदै ढलेकी सिर्जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुराइए पनि अत्यधिक रक्तस्रावका कारण साँझ ८ बजे उनको मृत्यु भएको थियो ।
हत्या आरोपित मृतकका भान्जा !
कास्कीको पोखरा–५ जिरो किमी घर भई पोखरा १८ सेदीमा बस्ने ४२ वर्षीय सिर्जना पौडेल केसीको हत्यामा उनकै भान्जाको संलग्नता रहेको खुलेको छ । मृतक महिलाका श्रीमान् कृष्ण क्षेत्रीका भान्जा सन्तोष केसीले अंश विवादका कारण माइजू सिर्जना पौडेल केसीको हत्या गरेको पाइएको छ । पक्राउ लगत्तै प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा सन्तोषले माइजू सिर्जनाको अंश विवाद रहेको र हजुरआमा (सिर्जनाकी सासू) सँग मृतकले झगडा गरेकाले आफूले माइजूको हत्या गरेको बयान दिएका छन् ।
स्कुटर चलाएर सन्तोषलाई भगाउन सहयोग गर्ने र हत्यामा सहयोगीको भूमिकामा रहेका ३२ वर्षीय कुशल परियार पनि नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
१८ घण्टामा आरोपित पक्राउ
चैत २५ गते बुधबार साँझ ७ बजेर ६ मिनेटमा पोखरा-८ को सभागृह चोकदेखि शिवालय चोकतर्फ जाने सडक खण्डको दायाँपट्टि उभिरहेकी ४२ वर्षीय सिर्जनामाथि खुँडा प्रहार भएको थियो । सम्साँझै भएको घटना अन्य प्रत्यक्षदर्शीले समेत देखेका थिए ।

सडकपेटीमा रहेकी महिलामाथि एक युवकले पछाडिबाट खुँडा प्रहार गरेका थिए । प्रहार लगत्तै चिच्याउँदै महिला ढलेपछि खुँडा प्रहार गर्ने युवक एक स्कुटरमा भागेका थिए । खुँडा प्रहार गर्ने व्यक्तिलाई स्कुटर स्टार्ट गरेर कुरिरहेका अर्का व्यक्तिले भगाएका थिए ।

महिला ढले लगत्तै उपचारका लागि अस्पताल लगिए पनि त्यसको एक घण्टामै उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।
महिलाको हत्या भएपछि अनुसन्धानमा खटिएको प्रहरीले त्यसको १२ घण्टामै घटनामा प्रयोग गरिएको स्कुटर पत्ता लगाएर कुशललाई पक्राउ गरेको थियो ।

पक्राउ परेका कुशलले दिएको बयान र सूचनाका आधारमा घटनाको १८ घण्टापछि रुपन्देही प्रहरीसँग समन्वय गरी कास्की प्रहरीले बुटवलबाट आरोपित सन्तोष केसीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि शुक्रबार अपराह्न १ बजे सन्तोषलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई सार्वजनिक गरिएको हो ।
किन भयो घटना ?
पर्वत माइती भएकी सिर्जनाको विवाह दोस्रो श्रीमतीका रूपमा भएको थियो । सिर्जनाका पति कृष्णले आफ्नी पहिलो श्रीमतीको मृत्यु भएपछि सिर्जनासँग ९ वर्षअगाडि दोस्रो विवाह गरेका थिए । सिर्जनाका पतिको समेत ३ वर्ष अगाडि मृत्यु भएपछि उनी एकल महिलाका रूपमा बसिरहेकी थिइन् ।

सिर्जनाको स्थायी ठेगाना पोखरा –५ जिरो किमीमा थियो भने उनी पोखरा –१८ सेदीमा बस्ने गर्थिन् । सिर्जनाले पृथ्वी चोकमा जुत्ता चप्पलको पसल गरेकी थिइन् । सिर्जनाको साथमा ४ वर्षकी छोरीसमेत थिइन्, जो डेरा कोठामै आफन्तसँग हुने गर्थिन् । उनको दिनचर्या भने दिनभर पसलमा बस्ने र साँझ कोठामा फर्कने हुन्थ्यो ।
सदा झैँ त्यस दिन पनि सिर्जना साँझ ७ बजे पसले बन्द गरेर पैदल हिँड्दै घरतिर जाँदै थिइन् । पसल बन्द गरेर हिँड्दै गर्दा सभागृह चोक नजिकै पछाडिबाट खुँडा प्रहार भएको थियो । घटना लगत्तै सिर्जनालाई अस्पताल लगिएको भए पनि साँझ ८ बजेर २० मिनेटमा अस्पतालले सिर्जनालाई मृत घोषित गरेको थियो ।

घटना लगत्तै मृतक सिर्जनाका दाजुबाट जाहेरी लिई प्रहरीले अनुसन्धानलाई तीव्र पारेको थियो । अनुसन्धान थालेको प्रहरीले त्यसको १२ घण्टामै स्कुटर चालक कुशल परियार रहेको पत्ता लगाई पक्राउ गरिएको थियो भने १८ घण्टामा मुख्य आरोपित र मतियार दुबैलाई नियन्त्रणमा लिइसकेको थियो ।
मुख्य आरोपित सन्तोष केसीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा माइजूको अंश विवाद रहेको कारण आफूले हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । मृतक महिलाकी सहोदर भान्जा रहेका पोखरा -५ मालेपाटन बस्ने २७ वर्षीय सन्तोष केसी हुन् । सन्तोष यसअघि पनि पटकपटक पक्राउ परिसकेका व्यक्ति रहेको खुलेको छ । उनी कहिले लागु औषध, कहिले चोरी, कहिले झैझगडा आदिमा पटकपटक पक्राउ परेका व्यक्ति भएको खुलेको छ ।

प्रारम्भिक बयानका क्रममा सन्तोषले मामाका छोराहरूसँग अदालतमा अंश मुद्दा चलिरहेको र मृतककी सासू अर्थात् आफ्नी हजुरआमासँग झगडा भएको देखेकाले रिस उठिरहेको कारण मार्ने योजना बनाएर बसेको र मिल्ने बित्तिकै हत्या गरेको बताएका छन् । सिर्जनाका स्वर्गीय पति कृष्णका जेठीपट्टिका श्रीमतीबाट एक छोरा र दुई छोरी रहेको बुझिएको छ ।
घटनाको दिन माइजूलाई मार्ने उद्देश्यले नै घरमा रहेको खुँडा निकालेर धार लगाएर पहिले कुशलकै सहयोग लिएर सुरुमा रेकी गरेका थिए । जब सिर्जनाले पसल बन्द गरेर हिँडेपछि अन्य सटरहरू पनि बन्द भएको, अलिअलि अँध्यारो भएको देखेपछि त्यहीँ आक्रमण गरी हत्या गरेको बयान दिएका छन् ।
त्यस लगत्तै त्यहाँबाट भागेर गाडी चढेर बुटवलमा गई एक होटेलमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी कास्की ल्याएको हो ।
प्रहरीले घटनामा सन्तोषको मात्रै संलग्नता हो कि अन्य व्यक्तिहरूको समेत मिलेमतो छ भन्ने सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया