काठमाडौं । आन्दोलनरत लमजुङ कृषि क्याम्पसका चौथो र छैटौँ सेमेस्टरका विद्यार्थीहरूले पुनः नियमित परीक्षाको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले निर्वाचनका कारण प्रभावित भएकाले सो परीक्षा पुनः सञ्चालन गर्न डीन कार्यालयलाई आग्रह गरेका हुन् ।
क्याम्पस प्रशासनले आफूहरूको मागको सुनुवाइ नगरेपछि पुनः डिन कार्यान्वयनमा न्यायका लागि आउनुपरेको सो क्याम्पसका स्ववियू कार्यवाहक सभापति आशिष पौडेलले जानकारी दिए । उनले जेनजी आन्दोलनलगायतका कारण कोर्स पूरा नभई लिइएको परीक्षा मान्य नहुने तर्क गर्दै पुनः परीक्षा लिने व्यवस्था गर्न सरकार र संवद्ध पक्षको ध्यानाकर्षण गराए । सो सेमेस्टरमा २ सय जना विद्यार्थी रहेका छन् ।
आफ्नो भविष्यमाथि नै खेलवाड गर्ने काम क्याम्पस प्रशासनले गरेको विद्यार्थीको आरोप छ । कार्यवाहक सभापति पौडेलले समयमा कोर्स पूरा नभएको वास्तविकतालाई स्वीकार गर्दै पुनः नियमित परीक्षाको कार्यतालिका तत्काल प्रकाशित गर्न आग्रह गरे ।
उनले भने, ‘समयमा कोर्स पूरा नभएको वास्तविकतालाई स्वीकार गरियोस् । नियमसम्मत ढंगले पुनः नियमित परीक्षाको कार्यतालिका प्रकाशित गरियोस् । विद्यार्थीहरूलाई थप अन्यौलमा नराखियोस् । २ सय भन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलवाड नगरियोस् । विद्यार्थीको भावना अनुसार पुनः नियमित परीक्षाको कार्यतालिका तत्काल प्रकाशित गरियोस् ।’
यता डीन कार्यालयले भने मौका परीक्षाको मात्रै व्यवस्था गर्न सकिने अडान राख्दै आएको छ । चुनाव अघि फागुन ९ र १० गते तोकिएको परीक्षा पुनः हुनुपर्ने विद्यार्थीको माग छ । कार्यवाहक सभापति पौडेलले कोर्स पूरा नभई लिइएका कुनै पनि परीक्षा मान्य नहुने भएकाले पुनः नियमित परीक्षा हुनुपर्ने अन्यथा आफूहरू कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया