नयाँ सरकार बनेसँगै लगानीकर्ता उत्साहित बनेका छन् : कमलेश अग्रवाल

लोकपथ
63
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले हालको राजनीतिक परिवेशले देशमा नयाँ आशा र सम्भावना सिर्जना गरेको बताएका छन् ।

शुक्रबार चेम्बरको ७५ औँ वर्षगाँठ (हिरक जयन्ती) समारोहमा बोल्दै उनले गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि देशको राजनीति संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनको परिणामले ठूलो आशा जगाएको बताए ।

उनका अनुसार २०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक कुनै एक दलले झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि हो । यस्तो अभूतपूर्व जनादेशसहित बनेको सरकारबाट राजनीतिक तथा आर्थिक स्थायित्व, सुशासन र लगानीमैत्री वातावरण निर्माण हुनेमा निजी क्षेत्र विश्वस्त रहेको उनले बताए ।

अध्यक्ष अग्रवालले निजी क्षेत्र नयाँ नेतृत्वप्रति आशावादी रहेको र सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको स्पष्ट पारे । ताजा जनादेशले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास बढाएको उनको भनाइ थियो ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा समावेश गरेका आर्थिक लक्ष्यहरूले निजी क्षेत्रलाई उत्साहित बनाएको उल्लेख गरे । ती लक्ष्यहरूमा आर्थिक वृद्धिदर वृद्धि, अर्थतन्त्रको विस्तार, प्रतिव्यक्ति आय वृद्धि, विद्युत उत्पादन विस्तार, तथा विशेषज्ञमा आधारित प्रशासनिक संयन्त्र स्थापना लगायतका विषय समेटिएको उनले बताए ।

सहकारी क्षेत्रमा देखिएको समस्याबारे बोल्दै उनले साना उद्यमी तथा बचतकर्ताको रकम एक सय दिनभित्र फिर्ता गर्ने सरकारी योजनाले व्यवसायीमा सकारात्मक सन्देश दिएको बताए ।

अध्यक्ष अग्रवालले सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने योजनाले आर्थिक विस्तारमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

मध्यपूर्वमा जारी द्वन्द्वले इन्धन आयात, वैदेशिक रोजगारी, रेमिट्यान्स, पर्यटन र व्यापारमा निर्भर नेपाली अर्थतन्त्रमा बहुआयामिक प्रभाव पारिरहेको उनले उल्लेख गरे ।

उनका अनुसार ऊर्जा सुरक्षा, वैदेशिक रोजगारीको विविधिकरण र आर्थिक आत्मनिर्भरता बढाउने नीति तत्काल आवश्यक छ। साथै इन्धनमा लगाइएका कर घटाएर उपभोक्तालाई राहत दिनुपर्ने उनको आग्रह छ ।

दीर्घकालीन रूपमा सहरी यातायातमा विद्युतीय सवारीसाधनको विस्तार, इभी प्रवर्द्धन तथा प्रभावकारी ऊर्जा नीतिको कार्यान्वयनमा जोड दिनुपर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?