निजी क्षेत्र सबल भए मात्र अर्थतन्त्र सबल हुन्छ : राष्ट्रपति पौडेल

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने धारणा व्यक्त गरे ।

उनले नेपालको निजी क्षेत्रले भोगेको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्‍याएको योगदानको प्रशंसा गरे । कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा चुनौती देखिएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सरकार र निजी क्षेत्र बिचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिबाट मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना सम्भव हुने बताए ।

उनले युवा पुस्तालाई देशको भविष्य भन्दै ‘ब्रेन ड्रेन’ रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । उद्यमशीलता, प्रविधि र सृजनशीलतामार्फत युवालाई आर्थिक गतिविधिमा जोड्नुपर्ने बताउँदै डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिए ।

उनले भने, ‘निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा होइन, राष्ट्र निर्माणको साझेदार र आर्थिक इन्जिनका रूपमा हेर्न आवश्यक छ ।’

साथै उनले संघ, प्रदेश र स्थानीय तहबिच समन्वय सुदृढ गर्दै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?