काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले तीन जना गणपतिहरूलाई मुख्यालय झिकाएर छानबिन प्रक्रिया अघि बढाएको छ । संगठनको नीतिविपरीत काम गरेको भन्दै ती गणपतिहरूलाई काठमाडौं बोलाएर बयान लिने काम भइरहेको छ ।
स्रोतका अनुसार, काठमाडौं बोलाइएका गणपतिहरूमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुमा आईडी नम्बर २८३९ का भीमबहादुर विष्ट, आईडी नम्बर ९८५ का गोपाल अधिकारी र आईडी नम्बर ९३७ का खुमबहादुर केसी छन् । विष्ट नम्बर ८ गण धनुषा, अधिकारी नम्बर २८ गण कपिलवस्तु र केसी नम्बर ३४ गण कैलालीका गणपति हुन् ।
नम्बर ८ गण धनुषाका गणपति विष्टलाई धनुषाको लालगढबाट ४० हजार रुपैयाँ नगदसहित सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेको घटनालाई लिएर सशस्त्र मुख्यालय बोलाइएको हो । सशस्त्र प्रहरी निरीक्षक अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले लालगढबाट घुससहित पक्राउ गरेको थियो । कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएकोमा सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जनाएको थियो ।
स्रोतका अनुसार, सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीले घुसबापत लिएको रकममा गणपति विष्टको पनि ‘कनेक्सन’ देखिएको भन्दै सशस्त्र मुख्यालयले यो विषयमा छानबिन गरिरहेको छ । सशस्त्र मुख्यालयका अधिकारीहरूले यो विषयमा जवाफ माग्दा विष्टले ‘अन्टसन्ट’ जवाफ दिएको पनि स्रोतको भनाइ छ ।
यस्तै, नम्बर २८ गण कपिलवस्तुका गणपति अधिकारीलाई कपिलवस्तुमा एक जनप्रतिनिधिद्वारा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात भएको घटनालाई लिएर सशस्त्र मुख्यालय बोलाइएको हो ।
शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीले केही दिनअघि सशस्त्र प्रहरीका वरिष्ठ हवलदार भीमबहादुर चौधरीमाथि कुटपिट गरेका थिए । कुटपिटपछि उपाध्यक्ष होमप्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्थानीयका अनुसार उपाध्यक्ष होमप्रकाशका भाइले ल्याउँदै गरेको जेसीबीसम्बन्धी सामग्री शुद्धोदन गाउँपालिका–५ स्थित चेकपोस्टमा प्रहरीले रोकेको विषयलाई लिएर विवाद सुरु भएको थियो । सोही विवाद उत्कर्षमा पुग्दा उपाध्यक्ष चौधरीले ड्युटीमै रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै हातपात गरेका थिए ।
घटना भएको स्थान सशस्त्र प्रहरीको नियमित जाँच चौकी (चेकपोस्ट) क्षेत्रभित्र पर्छ ।
यस्तै, नम्बर ३४ गण कैलालीका गणपति केसीलाई कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) सीमा सुरक्षा गुल्ममा भएको घटनालाई लिएर मुख्यालयमा बोलाइएको हो ।
गत चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा केही तस्कर समूह सशस्त्र प्रहरीको कार्यालयभित्रै प्रवेश गरी गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलमाथि हातपातको प्रयास गरेका थिए । तर, सो अवस्थामा आवश्यक बल प्रयोग नगरेको तथा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको निष्कर्षसहित सम्बन्धित सबै कर्मचारीलाई सशस्त्र मुख्यालय तानिएको थियो ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले यो घटनालाई गम्भीर रूपमा लिँदै त्यतिबेलै विस्तृत छानबिन अघि बढाएको थियो । कमान्डरमाथि आक्रमण प्रयास हुँदा पनि किन बल प्रयोग गरिएन र सुरक्षा व्यवस्थामा किन कमजोरी रह्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको थियो । साथै तस्कर समूह कसरी कार्यालयभित्र प्रवेश गर्न सफल भयो भन्ने विषयमा पनि विशेष चासो व्यक्त गरिएको थियो ।
यसअघि घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं.४३ रिजर्भ गण वनबेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । घटनाका समयमा खटिएका अन्य सशस्त्र प्रहरी कर्मचारीलाई पनि मुख्यालय तानिएको थियो खक्रौला गुल्ममा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको थियो ।
यो घटनामा काठमाडौं बोलाइएका ३४ नम्बर गणका गणपति केसी यसअघि नम्बर १२ गण बारामा थिए । बारामा रहँदा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सरुवा गर्ने बेला सो गणबाट अर्को गणको पनि जिम्मेवारी दिइएको थियो ।
सशस्त्र प्रहरी मुख्यालयमा उत्कृष्ट गणको अवार्ड लिएपछि गण फर्कने बेला उनले बाराको कलैयामा ब्यान्डबाजासहितको सिन्दुरे जात्रा निकालेका थिए । उनको यो हर्कतलाई नेपाली सेनाले समेत त्यसबेला असन्तुष्टि जनाएको थियो ।
गणपति केसीमाथि नम्बर ७ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीको निर्देशनसमेत नमान्ने गरेको आरोप पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया