काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति अवैधानिक भएको दाबी गर्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।
उक्त रिट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको पूर्ण इजलासमा पेसी चढेको छ । मुद्दा क्रम संख्या ‘झ’ मा सूचीकृत गरिएको छ ।
यसअघि चैत १ गते पनि सो रिटको पेसी तोकिएको भए पनि न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासले समय अभावका कारण सुनुवाइ गर्न सकेको थिएन ।
प्रारम्भिक सुनुवाइका क्रममा माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।
अदालतले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा संवैधानिक प्रावधानसँग सम्बन्धित जटिल कानुनी प्रश्नको अन्तिम सुनुवाइका क्रममा निरूपण हुने भन्दै तत्काल अन्तरिम आदेश दिन आवश्यक नभएको जनाएको थियो ।
सो मुद्दामा विपक्षीका रूपमा गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई कारण देखाउ आदेश जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया