काठमाडौं । नागढुंगा–मुग्लिङ सडक आयोजना अन्तर्गत निर्माणाधीन सडक कालोपत्रे कार्य बिटुमिन अभावका कारण प्रभावित भएको छ ।
निर्माणको मुख्य सिजनमै मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएपछि काम रोक्नुपरेको निर्माण कम्पनी ज्याङ्सु सगुन जेभीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार सप्लायरहरूले समेत अभाव देखाउँदै अर्डर रद्द गरेका छन् ।
हाल निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–नौबिसे खण्डको १२.२ किलोमिटरमध्ये ६ किलोमिटरमा अन्तिम कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी ६ किलोमिटरमा तेस्रो तहको पिच गर्ने क्रममा काम रोकिएको हो । उक्त खण्डमा कालोपत्रे सम्पन्न गर्न करिब ५३० टन बिटुमिन आवश्यक पर्ने जनाइएको छ ।
घिमिरेका अनुसार आवश्यक बिटुमिन तत्काल उपलब्ध भए १० दिनभित्र कालोपत्रे कार्य सम्पन्न गर्न सकिनेछ । निर्माण व्यवसायीहरूले बिटुमिन अभावबारे सरकारी पक्षलाई जानकारी गराइसकेको नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका प्रमुख केशव ओझाले बताए ।
यस्तै, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लागू गरेको कोटा प्रणालीका कारण निर्माणमा प्रयोग हुने यन्त्र उपकरण सञ्चालनका लागि पर्याप्त डिजेलसमेत उपलब्ध हुन नसकेको बताइएको छ ।
हालसम्म आयोजनाको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत पुगेको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने उक्त सडक विश्व बैंक को ऋण सहयोगमा निर्माण भइरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया