काठमाडौं । सिंहदरबार प्रवेशका लागि कानुन व्यवसायीहरूले पनि गेट पास लिनुपर्ने व्यवस्थाबाट सरकार पछि हटेको छ । कानुन व्यवसायीहरूको चर्को विरोधपछि सरकार पछि हटेको हो । अब कानुन व्यवसायीहरूले पनि पहिलाको जस्तै गरी आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् ।
सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी भएको कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको थियो । कानुन मन्त्रालयको परिपत्रका आधारमा गृह मन्त्रालयको निर्देशनमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको थियो ।
कानुन व्यवसायीहरूलाई २०४६ सालदेखि बार काउन्सिल र नेपाल बारको परिचयपत्रका आधारमा प्रवेश दिँदै आएको छ । सिंहदरबारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानुन व्यवसायीका लागि प्रवेश अनिवार्य गरिएको थियो । साथै कानुन मन्त्रालय र गृह मन्त्रालय र संसदीय सुनुवाइ समितिमा पनि कानुन व्यवसायीहरूको उपस्थिति भइरहने भएकाले रोक लगाइएको थिएन । नयाँ सरकार आएलगतै कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको थियो ।
तर, नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीले विरोध जनाएपछि अहिले पुनः परिचयपत्रबाटै प्रवेश अनुमति दिइन थालेको हो ।
सिंहदरबार प्रवेशमा रोक लगाएपछि नेपाल बारले प्रधानमन्त्री बालेन्द्र शाहसमेतलाई सहजीकरण गरिदिन भनेर पत्र लेखेको थियो ।
नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले सुरक्षा निकायले आफूहरूलाई फेरि परिचयपत्रकै आधारमा प्रवेश गराउन थालेको बताए । उनले सरकारले अब सिंहदरबार प्रवेशका लागि मापदण्डसमेत बनाउने तयारी गरेको बताए ।
हेर्नुहोस् पहिलाको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया