उपसभामुख उम्मेद्वार रुवी भन्छिन्– ‘मलाई अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु’

लोकपथ
210
Shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छन् ।

बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

उनले देशका लागि आफूले सकेको सबै गर्ने प्रतिबद्धता जनाउँदै भनिन्, ‘मलाई ठूलो जिम्मेवारी दिइएको छ, तर म सक्छु । देशलाई चाहिने सबै काममा सधैँ साथ दिनेछु ।’

ठाकुरले आफूजस्तो ‘भुँईको मान्छे’लाई छोटो समयमा नै ठूलो जिम्मेवारीमा पुर्‍याउनु पार्टीको विश्वासको प्रतिफल भएको उल्लेख गरिन् । साथै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्नु आफूका लागि अप्रत्याशित रहेको बताइन् ।

उनले मधेशकी छोरीलाई अघि बढाउन रास्वपाले सहयोग गरेको हुनसक्ने धारणा राख्दै समर्थनका लागि धन्यवाद दिइन् ।

‘रास्वपाले समर्थन गर्ने कुरा थिएन, तर उहाँहरूले समर्थन गरेर सरप्राइज दिनुभएको छ । मधेशको छोरीलाई अघि बढाउन सहयोग गर्नुभएको होला, ‘उनले भनिन् ।

ठाकुरले बिहीबार रास्वपाको समर्थनमा संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?